मुख्यमन्त्री शाहको दृढताले वर्षौंदेखिको चिसापानी - मंगलसेन सडक समस्या समाधान

सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित चिसापानी - मंगलसेन सडकखण्डको स्तरोन्नति कार्य अन्ततः समाधानको दिशामा अघि बढेको छ। सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहज्यूको विशेष पहलमा आवश्यक प्रक्रिया पूरा भई आज मिति २०८२/०१/०२ मा वन क्षेत्र प्रयोग तथा रुख कटानसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

कुल १६ किलोमिटर लामो यस सडकखण्ड स्तरोन्नतिको लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा संरक्षण विभागले ८.९२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यस क्षेत्रमा रहेका ४७२ वटा रुख तथा पोल हटाउने अनुमति दिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय (स.म.च. नं. ५००/०८०, मिति २०८०/१२/२८) अनुसार स्वीकृति प्रदान गरिएको हो।

विगत एक सातादेखि राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री शाहज्यूले कैलाली क्षेत्र नं. २ अन्तर्गत पर्ने यो सडकखण्डका समस्या समाधानका लागि निरन्तर पहल गर्नुभएको थियो। आज सम्झौता पत्रसहित प्रदेश फर्कनु भएका मुख्यमन्त्रीज्यूले यसलाई "परिणाममुखी संघर्ष" का रूपमा व्याख्या गर्नुभएको छ।

उहाँले केही समयअघि चिसापानी–मंगलसेन सडक समस्या समाधानको माग राख्दै आमरण अनशन बस्नु भएका आदरणीय नेत्र भण्डारीज्यूको अनशन सम्बोधन हुनेगरी दिएको आश्वासन पूरा गर्नुभएको छ। “यो समस्या तपाईंको मात्र होइन, मेरो र समग्र सुदूरपश्चिमबासीको हो,” भनी दिनुभएको प्रतिबद्धता आजको सम्झौता मार्फत सार्थक बनाइएको हो।

सडक निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन मुख्यमन्त्रीज्यूले भोलि, वैशाख ३ गते बिहान १०:३० बजे सडक डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, सुदूरपश्चिम प्रदेश वन निर्देशनालय, निर्माण कम्पनीका प्रतिनिधिहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष बैठकका लागि आमन्त्रित गर्नुभएको छ। उक्त बैठकले कार्य प्रारम्भका लागि स्पष्ट कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ।

यो ऐतिहासिक उपलब्धिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबै सरोकारवालाहरू - विशेषतः संघर्षशील नागरिक नेत्र भण्डारीज्यू र सहयोग गर्ने सम्पूर्ण निकायहरू प्रति आभार प्रकट गरिएको छ।

अब चिसापानी - मंगलसेन सडकखण्डमा विकास, समृद्धि र सहज आवागमनको नयाँ युग प्रारम्भ हुने अपेक्षा गरिएको छ।


Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post