मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

बिहीबार बेलुकी साढे ८ बजेतिर मकवानपुरको मनहरी गाउँपालिका-७ लच्काको पूर्व-पश्चिम राजमार्ग खण्डमा मनहरीबाट सुनाचुरी जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट अन्दाजी ६० वर्षीया महिलाको मृत्यु भएको हो।
उनको नाम र वतन नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ठक्करपछि गम्भीर घाइते भएकी ती महिलालाई प्रहरीले उद्धार गरी उपचारका लागि मनहरी अस्पताल पठाएको थियो।
त्यहाँ सामान्य उपचारपश्चात हेटौडा अस्पताल पुर्याएकोमा राति पौने १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। ती महिलाको टाउकोमा गम्भीर चोट लागेको थियो।
प्रहरीले ठक्कर दिने मोटरसाइकल राति साढे ९ बजे भेट्टाएको थियो।