अछाममा एकैघरका फुपू–भदै जंगलमा मृत अवस्थामा भेटिएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ८ घोडासैनस्थित पल्साँताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरा खड्का मृत अवस्थामा भेटिएका हुन् ।
गत शुक्रबार बाख्रा चराउन जंगल गएका उनीहरू गाउँपालिकाकै वडा नम्बर १ शोडषा सामुदायिक वनको चिन्ने ओढारस्थित एघारेभिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
विद्याप्रबोधनी माविमा कक्षा आठमा अध्ययनरत उनीहरू गोठालो गएको दिन घर नफर्किएपछि स्थानीयले खोजतलासका क्रममा शनिबार साँझ ५ बजेतिर एघारेभिरको छेउमा १० मिटरको दूरीमा उनीहरूको शव भेटाएपछि प्रहरीलाई खबर गरेको स्थानीय रामबहादुर भण्डारीले बताए ।
आइतबार बिहानै घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र प्रहरी नायब उपरीक्षक भण्डारीसहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू दुवैजना भिरबाट खसेको हुन सक्ने अनुमान गरिएको भण्डारीले बताए ।
यद्यपि, घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ । अनुसन्धानका लागि कोहलपुरबाट ल्याइएको कुकुर पनि घटनास्थलमा परिचालन गरिएको छ । अहिले मृतक दुवैजनाको शवको मुचुल्का भइरहेको र पोस्टमार्टमका लागि सदरमुकाम मंगलसेन लैजाने तयारी भइरहेको छ ।