चितवन — शुक्रबार बिहान करिब तीन बजे नारायणगढ-मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको छ। मृत्यु हुने र गम्भीर घाइते हुने सबै जना माइक्रोबसका यात्रुहरू हुन् भने बसमा रहेका चार जना सामान्य घाइते भएका छन्।
दुर्घटनाको विवरण: चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले दिएको जानकारीअनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस आपसमा ठोक्किएका हुन्।
मृतकमध्ये गोरखा जिल्लाको आरुघाट गाउँपालिका–१, मान्बुका अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङ रहेका छन्। चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी करिब ४० वर्षकी एक महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। त्यसैगरी, अन्दाजी ३२ र ३५ वर्षका दुई जना पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेको अवस्था: माइक्रोबसका चालक भरतपुरको सरकारी अस्पतालमा उपचाररत छन् भने बसका सहचालक भोजविक्रम शाह पनि सामान्य घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको उपचारपछि डिस्चार्ज गरिएको छ। दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिएका छन्।