काठमाडौँ, कार्तिक २२ – नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ।बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला दुई हजार रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सोही सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको प्रतितोला एक हजार नौ सय ६० रूपैयाँभन्दा २० रूपैयाँ बढी हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस २६ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सुनचाँदीको मूल्यमा भएको यस उतार–चढावले नेपाली बजारमा थप चासो ल्याएको देखिएको छ।