कठै यस्तो त कसैलाई पनि नहोस १९ वर्षको जमुनाको न गर्भ रह्यो, न सिन्दूर


जाजरकोटकी १९ वर्षिय जमुना बुढामगर अहिले एकैसाथ दुई पीडाबाट गुज्रिरहेकि छिन् । गत शुक्रबार राति गएको भूकम्पले उनको संसार नै उजाडिदिएको छ । आफ्नो प्रेमलाई विवाहमा परिणत गरेको केही महीना मै श्रीमानको साथ संगसंगै पेटमा रहेको उनीहरुको मायाको चिनो आठ महिने शिशुलाई पनि गुमाइन् ।

भूकम्पमा घाइते भएर भेरी अञ्चल अस्पतालको बेडमा छटपटाइरहेकी जमुना बुढामगरलाई बाँचेकोमा कुनै हर्ष छैन । बरु उनलाई पश्चात्ताप भैरहेको छ । पति र गर्भमा हुर्किरहेको शिशुको वियोगमा उनी एकसुरमा अस्पतालको भित्ता कोट्याइ रहन्छिन् ।

उनी कोहीसँग कुरा गर्दिनन् । एक्लै आँसु झार्दै बर्बराउँछिन् । शुक्रबार रातिसम्म सँगै भएका श्रीमान् अहिले नरहेपछि उनी गहिरो शोकमा छिन् ।

भन्छिन्, ‘आफ्नै मान्छे नभएपछि बाँच्नुको के अर्थ ।’भूकम्पपीडितहरुको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा निकै गहिरो लागिरहेको छ । पेटको बच्चा नरहेको कुरा उनलाई थाहा भएपनि बेलाबेलामा उनी आमालाई आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधि रहन्छिन् ।

जमुना कहिले राम्रैसित बोल्छिन भने कतिबेला बोल्दै बोल्दिनन् । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितिसकेको छ तर जमुनाको होस पूर्णरूपले फर्किएको छैन । रेखदेख गर्न आएकी आमा जमुनाको यो अवस्था देखेर छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिरहन्छिन ।

छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे”, आमा पवित्राले भनिन्, “एक्लै–एक्लै आफैँसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।

‘एउटा शोक भए पो मन सम्झाउनु ।शोकमाथि शोकले हामीलाई थिचिरहेको छ, जमुनाकी आमा पवित्रा खडका मगरले भनिन्, भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई छोरीको चिन्ताले सताइरहेको छ ।

शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताए ।

हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ । उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ”, भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिएका उनका बुवाले भने । जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत चौरजहारीसम्म ल्याइएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्रबाट मरेको शिशुलाई निकालिएको हो । शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसानघाटमा नै गरिएको बुवा भागिरामले बताए ।

अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरिरहन्छिन्, आमा “जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला”, उनले भनिन्, “अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।

आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ । 

जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।भूकम्पमा थिचिएर उनको गर्भको बच्चा चल्न छाडिसकेको थियो । चिकित्सकले व्यथा लगाउने औषधि दिएर आइतबार राति उनको गर्भबाट मृत बच्चा निकालेका हुन । ‘यहाँ ल्याउँदा नै बच्चा चल्न छाडिसकेको थियो ।

 परीक्षणमा बच्चा मरिसकेको थाहा भएपछि व्यथा लगाउने औषधि दिएर निकालियो’, उनको उपचारमा संलग्न चिकित्सक डा नविन बुढाथोकीले भने ।जमुनाले बच्चा जन्माउन एक महिना मात्र बाँकी थियो ।

यस्तो स्थितिमा मृत बच्चा निकाल्न अपरेसन गर्नुपर्ने हुनसक्थ्यो । तर, व्यथा लगाउने औषधिबाटै बच्चा निकाल्न सफल भएको डा बुढाथोकी बताउँछन् ।भूकम्पमा थिँचिदा जमुनाको गर्भमा चोट लागेको थियो । मृत शिशुको टाउको र छातीमा चोट देखिएको स्वास्थ्यकर्मीले बताएका छन्

Post a Comment

Previous Post Next Post