एक्ली भइन् प्रेमकली, घरभित्रै पुरिए बाआमा र दुई दाइ


चिउरी (जाजरकोट) । जाजरकोटको नलगाड नगरपालिका–१, चिउरीको इम्ले गाउँकी विमला विक शुक्रबार मध्यराति ११ः४८ बजे भूकम्पले घर थर्रर्र हल्लाएपछि ब्यूँझिइन् ।छानाबाट ढुंगा खस्न थालेपछि ढोकाबाट बाहिर मात्र के निस्किएकी थिइन्, ‘बचाऊ, बचाऊ’ भन्दै कोही कराइरहेको आवाज सुनिन्भेरी नदीको माथिल्लो पट्टी रहेको भिरालो पाखोमा रहेको यो बस्तीमा रहेका घरहरु कम्तीमा १०० मिटर दुरीमा छन् ।

 ‘गाउँमा बिजुली आएकै छैन, मास्तिर कराएको आवाज सुनेपछि अन्धकारमा छामछुम गर्दै त्यतातिर गएँ’, बिकले अनलाइनखबरसँग भनिन्, ‘कान्लामाथि रहेको घरमा पुग्दा दुई तले घर झरेर एकैठाउँमा आइसकेको थियो ।’उनका अनुसार, घरमा ६ जना सुतेका थिए । तीमध्ये ५५ वर्षीय हिरे कामीको आवाज उनले सुनेकी थिइन् । ‘दाइ भुइँ तलामा हुनुहुँदो रहेछ, त्यसैले निकै तल किचिनु भयो’, बिकले भनिन्, ‘माथिल्लो तलामा उहाँकी १५ वर्षीया छोरी रुपा विक र छिमेकी घरकी ८ वर्षीया छोरी प्रेमकली बिक सुतेका थिए ।

विमलासँगै उद्दारका लागि पुगेकी नन्दकली बिकका अनुसार, सुरुमा माथिल्लो पट्टी देखिएका रुपा र प्रेमकलीलाई उद्दार गरिएको थियोविमलाका अनुसार, प्रेमकलीको अनुहार र खुट्टामा चोट लागेको थियो । उनलाई बेहोस अवस्थामा उद्दार गरेर नलगाड नगरपालिकाको कार्यालय छेउ रहेको नलगाड स्वास्थ्य चौकीमा पठाइएको थियो ।

रुपाको पनि टाउको र खुट्टामा चोट लागेको थियो ।बच्चाहरुलाई निकालुञ्जेल दाइ (हिरे कामी) को आवाज आइरहेको थियो, तर बच्चाहरुलाई निकाल्दा निकाल्दै आवाज आउन छाड्यो’, नन्दकलीले भनिन्, ‘नजिकै उहाँकी श्रीमती चन्द्रकला कामी (३०), उहाँका छोरा सुनिल विक (१५) र विमल विक (१४) पनि पुरिइसकेका रहेछन् ।

चारै जनालाई निकाल्दा शनिबार बिहान झण्डै ४ बजिसकेको थियो । बाहिर निकाल्दा सबैको सास थिएन । यद्यपि, उज्यालो भएर प्रहरी र चिकित्सकहरुको टोली आएपछि मात्र उनीहरुलाई मृत घोषित गरिएको थियो ।

माथि रहेका दुई जना बच्चीहरुबाहेक कोही बचेनन्, यो परिवारको अब एक जना छोरो र त्यही छोरी मात्र बाँकी भयो’, नन्दकलीले थपिन्, ‘छोरो पनि काम गर्न भारतको मनाली गएकाले जोगियो ।

पुरिएको घरबाट निकाल्नका लागि केही सामान नहुँदा पनि उद्दारमा समस्या भएको उनले बताइन् । ‘गाउँमा पर्तिरबाट पनि आउने स्थिति भएन, त्यता पनि मान्छेहरु बितेका थिए’, नन्दकलीले सुनाइन्, ‘दाइहरु उद्दार नपाएरै पनि बित्नुभयो, समयमा निकाल्न सकेको भए जोगिनुहुन्थ्यो ।

शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले छोरी, नातीहरु बितेको थाहा पाएपछि खलङ्गाबाट हजुरआमा ७० वर्षीया मोती विक पनि आइतबार राति इम्ले गाउँ आइपुगेकी छन् । ‘परिवार सबै सकियो, एउटा नातिनी मात्र बचेकी छ…’, विकले रुँदै भनिन्, ‘८ वर्षमै टुहुरी भई अब उसलाई कसले पाल्ला ?

भूकम्पले भत्किएको घरको दलानमा टुक्रुक्क बस्दै बिक निकैबेर रोइरहिन् । छरछिमेकी आएर उनलाई समात्दै सम्झाउने कोशिस गरिरहे । गाउँभरि सबैतिर परिवारका कोही न कोही सदस्य बिछोडिएको उनले बताइरहेकी थिइन् । केहीबेरमा मोती आफैंलाई सान्त्वना दिन थालिन्, ‘कोही नहुनेका भगवान त होलान् नि !

एकैघरमा चार जना बितेको यो गाउँमा शुक्रबार मध्यराति गएको भूकम्पमा परेर १३ जनाले ज्यान गुमाएका छन् । गाउँका अधिकांश घरमा मानवीय क्षति भएपछि आइतबार उनीहरुको सामूहिक दाहसंस्कार गरिएको छ । गाउँका सबै मिलेर शवहरुलाई भेरि नदी किनारमा ल्याएर दाहसंस्कार गरेका छन् । ।

Post a Comment

Previous Post Next Post