जन्मिनेबित्तिकै चोरी भएको छोरालाई ४२ वर्षपछि भेटे पछि ....

यो पीडादायी कथा एक यस्ता आमाछोराको हो जो ४२ वर्षअघि बिछोडिएका थिए । मारियाले अस्पतालमा बच्चा जन्माउने बित्तिकै अस्पतालका कर्मचारी आएर उनको बच्चालाई लिएर गएका थिए ।

पछि उनलाई त्यो छोरा फिर्ता दिइएन र उल्टै बच्चा मर्‍यो भनियो । तर ती शिशुको मृत्यु भएको थिएन । त्यसैले अहिले ४२ वर्षपछि आएर ती आमा छोराको भेट भएको छ ।यो घटना दक्षिण अमेरिकी देश चिलीको भाल्डिभियामा भएको हो । जिमी लेपर्ट थेडनले ४२ वर्षको उमेरमा आफ्नी आमा मारियासँग भेट गर्ने मौका पाएका छन् । त्यो मार्मिक क्षणपछि उनले आफ्नी आमालाई ४२ वर्षको भरपाई हुनेगरी अँगालो हाले ।

जिमीले गत अप्रिलमा आफ्नो परिवारको खेाजी गर्ने अभियान सुरु गरेका थिए । उनले एउटा गैरसरकारी संस्थाको बारेमा पढेका थिए जसले धर्मसन्तानको रुपमा रहेका बच्चाहरुलाई उनीहरुका वास्तविक बुवाआमा तथा परिवारसँग भेटाउने काम गर्दथ्यो । >

उक्त संस्थाले चिलीको राजधानी सेन्टियागोस्थित एक अस्पतालमा जिमी गर्भको समय नपुग्दै जन्मिएको पत्ता लगायो । उनलाई इन्कुबेटरमा राखियो र आमालाई अस्पतालबाट घर जान भनियो । जब उनी पुनः अस्पताल आएर आफ्नो छोरा खोजिन् तब अस्पतालले शिशुको मृत्यु भएको र शवको पनि अन्त्येष्टि भैसकेको जवाफ दियो ।

अमेरिकाबाट एपीलाई दिएको अन्तरवार्तामा जिमीले भनेका छन्, ‘मसँग मलाई धर्मसन्तान बनाएर लगिएको कागज छ जसमा मेरो कोही पनि आफन्त जीवित नरहेको उल्लेख छ । मलाई केही महिनाअघि मात्रै थाहा भयो कि मेरी आमा हुनुहुन्छ र चारवटा भाइबहिनी छन् ।

जिमीले वकालत पेसा गर्दै आएका छन् र आफूजस्तै अनाथ बालबालिकालाई सहयोग गर्दछन् । जिमीलाई उनकी आमासँग भेटाइदिएको चिलीको सो गैरसरकारी संस्थाका अनुसार सन् १९७० तथा १९८० को दशकमा दशौं हजार बच्चाहरुलाई उनीहरुका परिवारबाट छुट्ट्याइएको थियो ।

चिलीको प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा संस्थाले यस्तो ठहर गरेको छ । सो रिपोर्टमा देश छाडेर गएका तर कहिल्यै नफर्किएका बच्चाहरुको कागजपत्र तथा पासपोर्टको समीक्षा गरिएको छ ।

सो गैरसरकारी संस्थाका संस्थापक तथा निर्देशक भन्छन्, ‘वास्तविकता के हो भने ती बच्चाहरु गरिब परिवार तथा गरिब महिलाहरुबाट चोरिएका थिए जसलाई केही पनि थाहा थिएन । उनीहरु आफ्नो बचावट कसरी गर्ने भन्ने कुरा पनि जान्दैनथे ।’उनका अनुसार पछिल्लो ९ वर्षमा संस्थाले ४५० भन्दा धेरै त्यस्ता धर्मसन्तानलाई उनीहरुका वास्तविक परिवारसँग भेट गराइदिएको छ ।

अमेरिकामा अन्य गैरसरकारी संस्थाहरुले पनि यस्तै काम गरिरहेका छन् । उनीहरुले तस्करीका सम्भावित पीडित र चिलीका अन्य बच्चाहरुका लागि निशुल्क रुपमा डीएनए परीक्षणको सुविधा उपलब्ध गराउँछन् ।

जिमीको डिएनए परीक्षण गर्दा उनी शतप्रतिशत रुपमा चिलीको बच्चा रहेको पुष्टि भयो । उनका भतिज नाता पर्ने एकजना युवकले पनि MyHeritage प्लाटर्फमको प्रयोग गर्दथे । दुवै जनाको डीएनए मिल्न पुग्यो । त्यसपछि उनले ती युवकलाई आफ्नो धर्म सन्तानवाला कागजपत्र पठाइदिए । जसमा उनलाई जन्म दिन आमाको घरको ठेगाना थियो । साथै आमाको नाम मारिया पनि लेखिएको थियो ।

ती युवकले आफ्नी आमाको आफन्त पर्ने एकजना महिलाको नाम पनि मारिया रहेको बताए । तर मारियाको फोन उठिरहेको थिएन । त्यसपछि जिमीले आफ्नी पत्नी र छोरीको तस्वीर पनि उनलाई पठाए ।

अन्ततः उनले आफ्नी आमा चिलीमा रहेको पत्ता लगाए ।त्यसपछि उनी आफ्नी पत्नी जोन्नाह र दुई छोरीलाई लिएर चिली गए । अनि उनी आफ्नी आमाको घरमा पुगे । आमाको घरमा छिर्दा बित्तिकै उनले आमालाई ४२ वटा रङ्गीबिरङ्गी बेलुन दिए र ती सबैलाई एक एक गरी फोडे ।

आमासँग बिछोडिएका ४२औं वर्षको प्रतिक थियो त्यो।छोरालाई देख्ने बित्तिकै आमाले भनिन्, ‘छोरा तिमीलाई थाहा छैन मैले तिम्रा लागि कति महासागर भरेर आँसु बगाएँ । मैले कति रात जागेर भगवान सँग प्रार्थना गरें कि तिमी कहाँ छौं भन्ने कुरा थाहा नपाउन्जेल म नमरुँ भनेर ।

जनरल अगस्टो पिनोशेको १७ वर्षको शासनकालमा चिलीमा बाल तस्करीलगायतका विभिन्न मानव अधिकार उल्लंघनका घटना भएको बताइन्छ ।उनले सन् १९७३ को सेप्टेम्बरमा वामपन्थी राष्ट्रपति साल्भाडोर अलान्डेलाई सत्ताच्यूत गरी चिलीको सत्ताको बागडोर हत्याएका थिए ।

उनको तानाशाही शासनकालमा चिलीमा कम्तिमा ३ हजार ९५ जना मानिस मारिनुका साथै हजारौँलाई राजनीतिक कारणले यातना दिनुका साथै जेलमा हालिएको थियो ।

Post a Comment

Previous Post Next Post