हामी कस्तो चामल चपाइरहेका छौ ? कतै त्यो प्लाष्टिकको त होइन ? अहिले धेरैमा यस्तै आशंका होला । किनभने प्लाष्टिकको चामलको बारेमा अनेकथरी प्रसंगहरु वाहिर आएका छन् । आफुले खाइरहेको वा आफ्नो भान्सामा पाकिरहेको चामलमाथि समेत शंका गर्नुपर्ने अवस्था पैदा भएको छ ।
हामीले खाएको चामलमा प्लाष्टिकको चामल मिसिएका होलान् त ? वा त्यो प्लाष्टिकको चामल होला त ?
गृहणीले यसको जान्न खोजिरहेका छन् । तर, कसरी थाहा पाउने भन्ने कुराको भेउ नपाइरहेका होलान् । प्लाष्टिकको चामल कसरी चिन्ने भनेर विभिन्नखाले टिप्स पनि दिन थालिएको छ । जस्तो कि,
- भातका सिताबाट डल्लो बन्नु र नबन्नु
- भातका सिता एक आपसमा टाँसिने र नटाँसिने
- भातको डल्लो भुईंमा उफार्दा बल जस्तै उफ्रिनु र नउफ्रिनु आदि
यो भ्रम कि सत्य ?
वास्तविकता अर्कै छ । वास्तवमा नक्कली एवं प्लाष्टिकको चामल परीक्षण गर्ने उल्लेखित तरिका गलत छ । भातको सिता डल्लो बन्ने, नबने, टाँसिने, नटाँसिने, उफ्रिने, नउफ्रिने आदिले त्यसको गुणस्तर जाँच्न सकिदैन । किनभने चामल एकैथरीका हुँदैनन् । विभिन्न किसिमको चामलको प्रकृति पनि थरीथरीका हुन्छन् । कुनै डल्लो पर्छ, कुनै पर्दैन । कुनै टाँसिने हुन्छ, कुनै टाँसिदैन ।
कस्तो चामल टाँसिन्छ ?
चामलमा पाइने चिज हो, स्टार्च । यो चामलमा ८० प्रतिशत हुन्छ । स्टार्चमा पनि एमाइलोज तथा एमाइलोपेक्टीन भन्ने दुई महत्वपूर्ण तत्व हुन्छन् । एमाइलोपेक्टीन बढि भएको चामल आपसमा ग्लु जस्तै टपक्क टाँसिन्छ । यस्तो चामलको भात उफ्रिदैन बरु भुँईमै टाँसिएर बस्छ ।
कस्तो चामल उफ्रिन्छ ?
ठिक्क पकाइएका चामल, जसमा एमाइलोज बढि हुन्छ त्यसलाई डल्लो बनाउँदा दानाहरुको बीचमा हावा भरिएको हुन्छ । यस्तो डल्लो भूँंईमा बजार्दा उफ्रिन्छ । जती बढि एमाइलोज त्यति नै यो बढि उफ्रिने हुन्छ । यस्तै एमाइलोपेक्टिन बढि पाइने चामलमा पानी बढि राखेर पकाइयो भने यो उफ्रिदैन बरु टाँसिन्छ ।
प्लाष्टिक कसरी पाक्छ र ?
प्लास्टिक मानव शरीरले पचाउनै नसक्ने चिज हो । प्लास्टिक पानी माथि उत्रिन्छ, चामल जस्तै डुब्दैन । प्लास्टिकले पानी सोस्दैन अनि पानी नै नसोस्ने चिज कसरी पाक्छ र ?
प्लास्टिकका दानालाई पगालेर मात्र बल बनाउँन सकिन्छ । उमालेर सेलाएपनि प्लास्टिकका दानाका बल बनाउन सकिदैंन । नाइजेरिया देखि सिंगापुर तथा भारतका विभिन्न शहरमा पनि यस्ता अफवाहमाथि अनुसंधान भइसकेका छन् तर कतै पनि प्लास्टिकका चामल प्रमाणित भएको छैन । साथै नेपालमा समातिएको चामलपनि प्लास्टिक नभएको नै पुष्टि भएको छ ।
अफवाह मात्र
वास्तवमा खानाको निम्ती प्लास्टिकको चामल पाईदैंन । आजसम्म कहिँपनि वा कसैले बनाएको फेला पारिएको पनि छैन । भारतमामात्र होइन सिंगापुर, हङकङ, पाकिस्तान, इण्डोनेशिया र एशियाकाअन्य देशहरु तथा अफ्रिकादेखि अमेरिकासम्म ‘चाइनिज प्लास्टिकका चामलका’ अफवाह फैलिएको छ, सन् २०११ यता ।
हल्लै हल्लाको देशमा
यसरी अफवाह फैलानमा अहिले शोसल मीडिया अगाडि देखिएको छ । अपुष्ट र अप्रमाणित कुरालाई पनि क्षणभरमै फैलाउने शोसल मीडियाको खबरप्रति हामी सचेत हुनैपर्छ । अझ हाँसउठ्दो त के भने, प्लाष्टिकको चामल बनाइएको भिडियो समेत बनाइएको छ । तर, आजसम्म त्यो चामल कहाँ पाइएको छ ? कहिबाट पुष्टि भएको छैन ।
प्लास्टिकका चामल (दाना) पनि हुन्छन्
प्लास्टिकका चामल हुदैं नभएका वा बनाउंदै नबनाइएका होइनन् । तर यो खानका लागि बनाइएको होइन । बरु, चामल जस्तै देखिने ति प्लाष्टिकका दानाहरु सामग्री प्याक र पार्सल गर्नका लागि प्रयोग गरिन्छ, जो फुट्ने संभावना हुन्छ ।
सेतो चामल हानिकारक
प्लाष्टिकको चामल केवल हल्ला मात्र हो । यद्यपी हामीले घरमा जुन चामल सेवन गरिरहेका छौ, त्यसमध्ये धेरै चाहि पोलिस गरिएको हुन्छ । यो कृतिम चामल होइन । तर, पोलिस गरिएकाले यस्तो चामल स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
किन गरिन्छ त चामलमा पोलिस ?
खासमा चामलमा किरा नलागोस्, लामो समयसम्म भण्डारण गर्न सकियोस् भन्नका खातिर चामलमा पोलिस गरिन्छ । त्यस्तै चामललाई आकर्षक देखाउन पनि यस्तो काइदा अपनाइन्छ । यस्तो चामल भने बजारमा छ्यापछ्याप्ती छ । यसरी पोलिस गर्दा चामलमा पाइने बि कम्प्लेक्स, उच्च गुणस्तरयुक्त प्रोटिन, तौलिया पदार्थ, एन्टि अक्सिडेन्ट आदि सबै ढुटोमा जान्छ । र, शरीरलाई काम नलाग्ने स्टार्च मात्र बाँकी रहन्छ ।
रोचक त के भने, चामललाई राम्रो देखाउने चक्करमा जुन ढुटो फ्याकिन्छ, त्यसबाट सबैभन्दा उच्च गुणस्तरको प्रोटिन बनाइन्छ । अर्थात चामलमा रहेको राम्रो तत्व हटाएर हामी नराम्रो चामल खाइरहेका छौ ।
हामीले सेवन गर्ने सेतो चामलमा जुन स्टार्च तत्व हुन्छ, त्यसले शरीरमा मोटोपन बढाउँछ । साथै रगतमा सुगर लेभल समेत बढाउँछ । त्यसैले बढी स्ट्राचयुक्त सेतो चामल एकदमै कम खानुपर्छ । बरु ब्राउन राइस स्वास्थ्यका लागि राम्रो हो । लेखक स्पार्क हेल्थ होम हस्पिटल्स, कालीमाटीका निर्देशक हुन् ।