दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा तीन जनाको गयो ज्यान ...

सिरहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा तीन युवकको मृत्यु भएको छ।हुलाकी राजमार्ग अन्तर्गत सिराहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा बुधबार साँझ सवा ७ बजे भएको दुर्घटना भएको थियो।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

दुर्घटनामा परी मृत्यु हुनेमा अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन्। दुर्घटनास्थलबाट प्रहरीले उद्धार गरी प्रादेशीक अस्पताल पुर्‍याउँदा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको हो।

दुर्घटनामा अर्नामा गाउँपालिका-५ कै १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएका छन्। प्रादेशिक अस्पताल सिरहामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि गएराति नै विराटनगर रिफर गरिएको डिएसपी पाण्डेले जानकारी दिए। मोटरसाइकल तीव्र गतिमा रहेको र दुबै मोटरसाइकल चालकले हेलमेट नलगाएको पाइएको डिएसपी पाण्डेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Post a Comment

Previous Post Next Post