छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु

लमजुङ — लमजुङमा छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका-९, गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विकको उपचारको क्रममा मृत्यु भएको हो ।गत असोज १० गते साँझतिर आफ्नै छोरा २८ वर्षीय सुजन विकको चक्कु प्रहारबाट दिलबहादुर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र उपचारको क्रममा शनिबार अपराह्नतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।गाउँलेका अनुसार दारी काट्ने मेसिन माग्दा नदिएपछि सुजनले आफ्नै बाबुको पाखुरामा हिर्काएका थिए ।

 त्यसपछि बाबुले गाली गर्दा छोराले चक्कु ल्याएर प्रहार गरेपछि बाबु गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । घाइतेको स्थानीय गिलुङ स्वास्थ्य चौकीमा प्राथामिक उपचार गरी पोखरा पठाइएको थियो । घाइते स्वास्थ्य चौकीसम्म आफैं हिँडेर पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँका अनुसार घरायसी विवादका कारण छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बाबुलाई घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न सुजन विकलाई प्रहरीले असोज १६ गते पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान थालेको थियो । घाइतेको उपचारको क्रममा मृत्यु भएपछि सुजन विकउपर कर्तव्य ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले बताए ।

Post a Comment

Previous Post Next Post