इजरायलमा मारिएका गणेशका दाइ भन्छन्- आमाले खान र सुत्न छाड्नुभयो


असोज १६ गते दिउँसो बझाङमा भूकम्प गएको केहीबेरमा जयपृथ्वी नगरपालिका-११ का धनलाल नेपालीको फोन बज्यो । फोन इजरायलबाट माइलो छोरा गणेशले गरेका थिए ।

धनलाललाई विद्यार्थी छोराले जिम्मेवारपूवर्क सम्झाए, ‘भत्किएको घरमा नबस्नु, अर्को घर नबनाउन्जेल टिनको छाप्रो बस्नु ।

गणेश टिकापुर बहुमुखी क्याम्पसमा छात्रवृतीमा कृषी विज्ञानमा स्नातक पढिरहेका थिए । आठौं सेमेस्टर अध्ययनरत उनी इन्टर्नसिप गर्न भदौमा इजरायल गएका थिए । उक्त फोन सम्वाद नै यी बाउ छोरोको अन्तिम बन्यो । गणेश प्यालेस्टिनी विद्रोही समूहको आक्रमणमा परेर उतै अस्ताए ।

पुत्र वियोगमा विक्षिप्त बनेका धनलालले छोरोको शव घर आएपछि अन्तिम संवाद सुनाउँदै भने ‘यता भूकम्प आएको छैन । मेरो चिन्ता नगर्नू तपाईंहहरु सुरक्षित बस्नू भन्थ्यो । आफैँ लास भएर आयो ।

छोरासँगको अन्तिम सम्झना सुनाउँदा धनलाल पटक-पटक भावविह्वल भए । नहुन पनि किन– पढाइमा सानैदेखि अब्बल छोरो गुमाउनुको बज्रपातले थिचेको छ उनलाई ।

जसोतसो उनले आफ्नो मन बुझाउने प्रयास गरे पनि श्रीमती लक्ष्मी आउजीलेलाई उनले समाहाल्न सकेका छैनन् । छोराको मृत्यु भएको थाहा पाएदेखि छिनछिनमा बेहोस हुने गरेकी लक्ष्मी झन् कमजोर बनेकी छन् । उनी दिनप्रति दिन झन् विक्षिप्त बन्दै छिन् ।

उनलाई बिहिबार अस्पताल भर्ना गरिएको थियो ।गणेशका दाइ विकास नेपाली भन्छन्, ‘भाइको खबर सुनेदेखि आमाको होस नै ठेगानमा छैन । पटक पटक अस्पताल लगेर उपचार गरेका छौं ।

घटनाको दिनदेखि नै आमाले खान र सुत्न छाड्नुभयो ।गणेशको शव मृत्यु भएको २० दिन पछि बझाङ ल्याइएयो । उनको भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको छ । धनलालको परिवारको अवस्था देखर शव यात्रामा आफूलाई कठोर मान्नेहरुको पनि मन भक्कानियो ।जिल्लाका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरु उनको शव यात्रामा सहभागी भएका थिए ।

गणेशका चार दिदी, एक दाजु र दुई भाइ छन् । आर्थिकरुपले विपन्न परिवारमा जन्मिएका गणेशलाई ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयले इजरायल पठाएको थियो ।

उनलाई पढाएका शिक्षक लालबहादुर बोहरा भन्छन्, ‘पढाइमा मात्रै नभएर, गीत संगीत र साहित्यमा पनि गणेशको क्षमता अरुभन्दा अब्बल थियो ।’मिहेनती विद्यार्थी गुमाउँदा शिक्षक बोहरा पनि निकै दुखित देखिन्थे ।





सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल गएका थिए । उक्त आक्रमणमा परेर १० जनाको मृत्यु भइसकेको छ भने एक जना विद्यार्थी विपिन जोशी अझै सम्पर्कविहीन छन् ।

Post a Comment

Previous Post Next Post