धादिङका चार ठाउँमा सवारी दुर्घटना, १७ जना घाइते


धादिङमा बुधबार मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करपछि मोटरसाइकल काठमाडौंतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा ठोकिन पुगेको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका– ६ का २६ वर्षीय जितेन्द्र पाठक र उनकी श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ‘रिफर’ गरिएको प्रहरी अधिकृत जैसवारले जानकारी दिए ।

बसमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका– १४ का ३० वर्षीय सुनिता कार्की, उनकी ३ वर्षीया छोरी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका– ११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीया धनिमाया धमला घाइते भएका छन् ।

त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीया खुसकुमारी तिमिल्सेना, ९ वर्षीया सन्ध्या तिमिल्सेना, नीलकण्ठ– ११ का ४४ वर्षीया राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका छन् ।

थाक्रे गाउँपालिका– २ का ४५ वर्षीय नवराज रिजाल र उनकी छोरी २१ वर्षीया सम्झना रिजाल पनि घाइते भएका छन् । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

सामान्य घाइतेहरूको गल्छीस्थित अम्बी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई र बसमा सवार तीन जनालाई काठमाडौं पठाइएको छ । तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा सवारी दुर्घटनाको घटना बुधबार मात्रै यो चौथो हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ४१७७ नम्बरको माइक्रोबस र काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा २१ प ६०९० नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए ।त्यस्तै, बेनीघाट रोराङ– ३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजनाघाइते भएका थिए ।


Post a Comment

Previous Post Next Post