रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ छिङ माइती भएकी वडा नम्बर ७ साँखकी भावना विक गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी हुनुभयो । निर्वाचनको सुरक्षार्थ उहाँको कार्य क्षेत्र तोकियो सानीभेरी गाउँपालिका वडा नम्बर ९ को सिम्ली प्रहरी पोस्ट ।
त्यहाँ रहेका बेला भावना सहित उहाँको टिमले खाना खाने भयो सिम्ली बजारमै रहेको लोकेन्द्र भनिने लोकबहादुर विकको होटेलमा । त्यस क्रममा भावना र लोकबहादुर बिच चिनजान भयो । होटेलमा आउने ग्राहक र होटेलवाला बिचको चिनजान सामान्य नै हो । तर उनीहरूको चिनजान सामान्य रहेन । त्यही चिनजान पछि गएर प्रेम सम्बन्धमा कायम भयो ।
घटनाका बारेमा जानकारी दिन बुधवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भावना र लोकबहादुरको चिनजानका विषयमा जानकारी गराउँदै जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले भन्नुभयो–‘दुई बिचको पहिलो चिनजान म्यादी प्रहरी भएका बेला ग्राहक र होटेल व्यवसायीका रूपमा भएको देखिन्छ, तर पछि गएर उक्त चिनजान प्रेम सम्बन्धमा परिणत भएको छ ।’ त्यही चिनजानले भावनाको ज्यान लिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूका बिचमा गहिरो सम्बन्ध रहेको देखिन्छ । पछिल्लो २५ दिनमा उनीहरूका बिचमा १ सय २४ पटक फोनमा कुराकानी भएको डिएसपी भट्टराईले जानकारी दिनुभयो । यसका आधारमा उनीहरू बिचमा एक दिनमा औसतमा पाँच पटक कुरा भएको देखिन्छ । उनीहरू बिचमा सम्बन्ध बढ्दै जाँदा आर्थिक लेनदेन समेत भएको देखिन आएको डिएसपी भट्टराईको भनाई छ ।
उहाँका अनुसार लोकबहादुरले भावनालाई ५ लाख रुपैयाँ दिएको दाबी गरेका छन् । यो सत्य हो होइन भनेर तथा भावनाबाट लोकबहादुरले पैसा लिएको हुनसक्ने तर्फ पनि अनुसन्धान केन्द्रित गरेको उहाँले बताउनुभयो ।हत्याको कारण अवैध सम्बन्ध र आर्थिक कारोबार नै देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
भावनाले विवाहको लागि दबाब दिएको र आर्थिक लेनदेनमा समेत विवाद बढेको लोकबहादुरले बयान दिएको प्रहरीको भनाई छ । यही विवादका कारण लोकबहादुरले भावनाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । भावनाको खलङ्गाको एक होटेलमा शव फेला परेको थियो ।
उनीहरू असोज २८ गते होटेलमा कोठा लिएर बसेकामा २९ गते बिहान १० देखि ११ बजेको बिचमा भावनाको हत्या भएको प्रहरीको भनाई छ । भावनाको गला रेटेर हत्या भएको छ । डिएसपी भट्टराईका अनुसार लोकबहादुर भावनाको हत्या गरेको स्वीकार गरिसकेका छन् भने विभिन्न प्रमाणले पनि उनले नै हत्या गरेको पुष्टि हुन्छ ।