दशैंको टीका कतिबेला लगाउने ? त्यसअघि के गर्ने हेर्नुहोस् ?

दशैं आफैंमा शुभ दिन हो । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन ।

बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरेर कलशको जलले अभिषेक गरेर आफन्तकोमा टीका लगाउन जाने चलन छ । दशैंमा कतिबेला टीका लगाउने भनेर कुनै अलमल हुनु पर्दैन ।त्यसभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ, १० बजेट ३७ मिनेटमा दुर्गा विसर्जन गर्नु उत्तम हुन्छ ।

त्यति हुँदाहुँदै पनि साइत नै चाहिनेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर २ मिनेटमा उत्तम साइत भनेर तय गरेको छ ।त्यसभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ, १० बजेट ३७ मिनेटमा दुर्गा विसर्जन गर्नु उत्तम हुन्छ ।हामीले घटस्थापनादेखि दशमीसम्म दुर्गाको नित्य पूजा गरेका हुन्छौं । त्यसका आ–आफ्नै प्रक्रिया छन् ।

शुरुमा घटस्थापना गरिन्छ, सप्तमीका दिन विभिन्न प्रकारका वनस्पती र फलफूलहरु सहित फूलपाती भित्र्याइन्छ । नवदुर्गाको पूजा हुन्छ, हातहतियार अनि यन्त्रहरुको पूजा गरिन्छ । महानवमीका दिन हवन गरिन्छ ।

विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरेपछि दशैंका दिन नित्य पूजा गरेर आरती पुष्पाञ्जली गरेर दुर्गा विसर्जन गरिन्छ । दुर्गा विसर्जन पश्चात कलश उठाएर त्यहाँको जल घरका विभिन्न ठाउँमा छर्ने र शान्ति, प्रगति र उन्नतीको कामना गरिन्छ ।

दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने भन्ने परम्परा छ । त्यसपछि हामी मान्यजनबाट टीका लगाउँछौं ।

दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । दैलामाथि टीका लगाउने गरिन्छ ।

हाम्रो घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ ।

कता फर्किएर टीका लगाउने ?

परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो । दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन ।

साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि ११ बजेर २ मिनेटमा उपयुक्त समय छ । कसैलाई हतारो भएमा, टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन छ । पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन छ ।

बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा पर्दैन । त्यसैले टीकाको साइतको दुविधा नपाले हुन्छ ।

अहिले त कतिपयहरुलाई दशैंको दिन ढिलोगरी नेपाल आउन पाउने बाध्यता पनि बन्न सक्छ । त्यस्तो अवस्थामा समेत साइत गुज्रिएकाले दुविधा पाल्नु पर्दैन । जतिबेला भएपनि मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्नु उपयुक्त हुन्छ ।

Post a Comment

Previous Post Next Post