जिरी नगरपालिका–२ एलुङकी २० वर्षिया सोनाम छेकी शेर्पाको आफ्नै घरको बाथरुममा नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको हो । कात्तिक ७ गते दशैंको टिकाको दिन विहान शेर्पा नुहाउन भनेर बाथरुम गएकी थिइन् । भरी ग्याँस भएको सिलिन्डर जोडेर बाथरुममा नुहाउन पसेकी उनी करिव डेढ घण्टासम्म बाहिर ननिस्किएपछि परिवारका सदस्यले हेर्दा घोप्टो परेर ढलेको अवस्थामा फेला परेकी थिइन् ।
त्यसपछि बाथरुमको ढोका फुटाएर हेर्दा उनको मृत्यु भइसकेको अवस्थामा शव फेला परेको जिरी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष ङिमापल्दे शेर्पाले जानकारी दिनुभयो । बाथरुममा अक्सिजनको कमीका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
दोलखामा चिसो बढ्न थालेको छ । जसका कारण तातोपानीमा नुहाउन गएकी शेर्पाको ग्याँस गिजरमा नुहाउने क्रममा मृत्यु भएको छ । च्छोरोल्पा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले ग्यास गिजरमा नुहाउँदा ग्याँसले फोक्सोलाई बढी असर गर्ने भएकाले भेन्टिलेसन नभएको अवस्थामा मानिसको मृत्यु हुन सक्ने सम्भावना उच्च हुने बताउनुभयो ।
ग्याँस हाइ ट्यामप्रेचरको हुने र स्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुगेपछि अक्सिजन नहुँदा मानिसको ज्यान जाने खतरा हुने भएकाले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । अक्सिजन नभएको ठाउँमा ग्याँस गिजरको प्रयोग गर्दा मृत्यु हुने जोखिम बढी हुने डा.दंगालले बताउनुभयो ।