इजरायल घटना : छोराको मृत्युको खबरले भक्कानिइरहेका आमाबाबु


सबैले भनेपछि बल्ल आमाबाबु झस्किएर रुन कराउन थाले । उनीहरुले इजरायलमा रहेका बेला नारायणलाई चिन्ने उनका साथीलाई सम्पर्क गरे । त्यताबाट पनि त्यस्तै त्यस्तै खबर आयो । अहिले त घरमा असाध्यै पीडा छ, गाउँ पूरै शोकमा डुबेको छ ।

धनगढी — आइतबार साँझतिर एकाएक इजरायलमा भएको आक्रमणमा मृत्यु भएकाहरुको सूची सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती घुम्न थाल्यो । मृतकको सूचीमा कैलालीका दुई जना विद्यार्थीको नाम पनि थियो । मृत्यु हुने १० जनामध्येको विवरणमा थियो, घोडाघोडी नगरपालिका–४ जनकपुरका नारायणप्रसाद न्यौपाने र बर्दगोरिया गाउँपालिका–३ का आशिष चौधरीको ।

घोडाघोडी नगरपालिकाको सुख्खड बजारदेखि ६/७ किलोमिटर भित्र जनकपुरमा हरिकृष्ण न्यौपानेको बसाइँ छ । साधारण किसान परिवारका उनै हरिकृष्णका माइला छोरा हुन् नारायण । बाल्यकालमै जन्मदिने आमा गुमाएका नारायणलाई कान्छी आमाले कर्म दिइन्, हुर्काइन्, बढाइन्, पढाइन् ।

आइतबार साँझ आगोको झिल्कोसरी मृत्यु हुनेहरुको विवरण सामाजिक सञ्चालमा फैलिरहँदा आमा बाबुलाई कुनै सुइँको थिएन । घरको इन्टरनेटमा पैसा सकिएकाले वाईफाई नचले चार दिन भएको थियो । इजरायलमा रहेका छोरासँग कुराकानी नभएपनि छोरा घटनामा परेको कुनै शंका थिएन उनीहरुमा । न त इजरायलमा आक्रमण भएर युद्ध भइरहेको नै उनीहरुलाई थाहा थियो ।

कालिकोटबाट बसाइँ सरेर आएका न्यौपानेहरुको घोडाघोडीको जनकपुरमा बाक्लै संख्यामा बसोबास छ । नारायणका आमाबाबुले थाहा नपाए पनि गाउँलेहरुकाबीच भने नारायणको मृत्युको खबर फैलिसकेको थियो । तर उनको घरमा भन्ने हिम्मत भने कसैले गर्न सकेका थिएनन् ।

तर पनि आफन्त परिवारहरुले धेरैबेर खबर लुकाएर पनि राख्न सक्ने कुरा भएन । नारायणका दाजु नाता पर्ने मोतीलाल न्यौपानेलगायत अन्य दाजुभाइहरु झमक्क रात छिप्पिँदै गर्दा एकपछि अर्को गर्दै हरिकृष्णको घरमा जम्मा हुन थाले । ‘तर धेरै बेरसम्म आमाबाबुलाई कसैले पनि नारायण पनि घटनामा परेको सुनाउने हिम्मत गरेनौं,’ मोतीलालले भने ‘पछि पछि हाम्रा सबै परिवार जम्मा हुँदै गए, अनि बिस्तारै कुरा खोल्यौं ।

आमाबाबुले घटनामा आफ्नो छोरा पनि परेको पत्याएनन् । उनीहरुलाई छोराको मृत्युको खबर साँचो नहोला भन्ने लागिरह्यो । ‘तर पनि मन न हो, सबैले भनेपछि बल्ल आमाबाबु झस्किएर रुन कराउन थाले,’ मोतीलालले भने, ‘पछि उनीहरुले पनि इजरायलमा रहेका बेला नारायणलाई चिन्ने उनका साथीलाई सम्पर्क गरे ।

त्यताबाट पनि त्यस्तै त्यस्तै खबर आयो । अहिले त घरमा असाध्यै पीडा छ, गाउँ पूरै शोकमा डुबेको छ ।’नारायण टीकापुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भयो । हरिकृष्णका तीन छोरामध्ये नारायण माइला हुन् । नारायणका जेठा दाजु परिवारसहित भारतको बंग्लोरमा छन् । कान्छो भाइ सानै उमेरका छन् । उनी सुरुदेखि नै पढाइमा तेज थिए । घरपरिवारले अब लास भएपनि चाँडोभन्दा चाँडो ल्याउन पहल भइदिए हुन्थ्यो भन्ने अपेक्षा परिवारहरुले गरिरहेको मोतीलालले बताए ।

Post a Comment

Previous Post Next Post