टिकटकबाट यस्तो घृणित हर्कत देखाएका कारण यी महिलालाई जेल सजाय...

इन्डोनेसियाको अदालतले एउटा विवादित टिकटक भिडियो पोस्ट गरेवापत दुई वर्ष जेल सजाय तोकेको छ । ती महिलाले सुँगुरको मासु खानुअघि इस्लामिक वाक्यांश भनेको उक्त भिडियोमा देखिन्छ ।

३३ वर्षीया लिना लुतफियावती नामकी ती महिलालाई धार्मिक सम्प्रदायविरुद्ध घृणा फैलाउने काम गरेकोमा अदालतले दोषी ठहर गरेको हो । उनलाई १६ हजार २ सय ४५ अमेरिकी डलर जरिवाना पनि गरिएको छ । यदि उनले जरिवाना नतिरेको खण्डमा उनको जेल अवधि थप ३ महिनासम्म लम्बिनसक्ने पनि बताइएको छ । मुस्लिम बाहुल्य इन्डोनेसियामा विवादास्पद ईश्वरनिन्दा कानुनको शृंखलाको यो पछिल्लो घटना हो ।

बीबीसीको समाचार अनुसार ती महिलाले बलिउड फिल्मको प्रभावका कारण आफ्नो भारतीय नाम 'लिना मुखर्जी' राखेकी छन् । साथै लीना मुस्लिमको रूपमा पनि चिनिन्छिन् । यद्यपि इस्लाम धर्म अनुसार सुँगुरको मासुको उपभोग सख्त निषेध गरिन्छ ।

टिकटकमा २० लाख फलोअर्स रहेकी लुतफियावती जीवनशैलीबारे भिडियो बनाउने प्रभावशाली महिलाको रुपमा चिनिन्छिन् । साथै भारतमा उनले व्यवसाय पनि सञ्चालन गर्दै आएकी छन् ।

गत मार्चमा उनले सुँगुरको छाला खाने क्रममा 'बिस्मिल्लाह' भनेपछि विवादतमा तानिएकी थिइन् । अरबी वाक्यांश 'बिस्मिल्लाह' को अर्थ 'भगवानको नाममा' हुन्छ । जतिबेला उनी इन्डोनेसियाको पर्यटकीय गन्तव्य बालीको यात्रा गरिरहेकी थिइन् । उनको त्यो भिडियो छोटो समयमै लाखौंले अवलोकन गर्नुका साथै व्यापक रुपमा आलोचना भएको थियो ।

लुतफियावतीलाई प्रहरीले जाति र धर्मविरुद्ध शत्रुतापूर्ण कार्य गरेको भन्दै घृणित सूचना फैलाएको आरोपमा गत मे महिनामा अभियोग लगाएको थियो । यससँगै अधिकारवादी समूहहरूले इन्डोनेसियाको ईश्वरनिन्दा कानुनको आलोचना गर्न थालेका छन् । धार्मिक अल्पसंख्यकमाथि उक्त कानुन बारम्बार दुरुपयोग गरिएको उनीहरूको भनाइ छ ।

२०१७ मा जकार्ताका पूर्वगभर्नर बासुकी जाहाजा पूर्नामालाई पनि इस्लामको अपमान गरेको अभियोगमा झण्डै २ वर्ष जेल सजाय सुनाइएको थियो ।

Post a Comment

Previous Post Next Post