त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाहिर वियोगको वेदना खप्न नसकेका धेरै आँखा ओभाना थिएनन्।अँगालोबाट छुट्दै गरेका प्रियजन र हत्केलाबाट छुट्टिएर गन्तव्यतिर बढ्दै गरेका पाइलाहरूको विदाइमा वेदनाको झरी बगेको थियो, शुक्रबारको मौसमजस्तै!
त्यसको ठिकमुनि विदेशबाट फर्किएका प्रियजन स्वागत गर्ने प्रतीक्षालयमा भने खुसियाली छाएको थियो। आफन्त पर्खेकाहरू आँखा चनाखो पार्दै हरेक यात्रुका अनुहार नियालिरहेका थिए। तिनको आँखामा पर्खाइको व्यग्रता र प्रियजनसँग मिलनको खुसी एकसाथ प्रकट भइरहेको थियो।यही भीडमा थिए,।
धादिङ खनियाँबास-१ झार्लाङका विक्रम तामाङ।सत्र वर्षदेखि आमाको बाटो हेरेर बसेका विक्रमलाई डेढ घन्टाको पर्खाइले मुटु फुट्लाझैं भइरहेको थियो।बिहान विमानस्थल जान ललितपुरको इमाडोलस्थित कोठाबाट निस्किएर ट्याक्सी चढ्दा पनि उनका गोडा थरथराएका थिए।हामीले त लगभग माया मारिसकेका थियौं,' ट्याक्सी चढ्नुअघि उनले सेतोपाटीसँग भने, 'आमा त आउने हुनुभयो!
बालखैमा छुटेकी आमाको धमिलो आकृति ठम्याउन उनी बिहान १० बज्न १० मिनेट बाँकी हुँदै विमानस्थल पुगे। आफन्तलाई स्वागत गर्न पंक्तिबद्ध भएर बसेकाहरूको भीडमा मिसिए।उनी चार वर्षको हुँदा आमा विदेश गएको र उतै बेपत्ता भएको उनलाई थाहा छ।
अनुहार भने याद छैन।स्मृतिले कुनै तस्बिर कैद गरेको भए पो अनुहार ठम्याउनू!दस बजेर ५९ मिनेट गयो। प्रतीक्षालयको डिस्प्ले बोर्डमा चाइना एयरको जहाज अवतरण भएको संकेत देखियो।
डिस्प्ले बोर्डको गाढा निलो अक्षरमा ल्यान्डेडको हरियो संकेत देखिनेबित्तिकै विक्रमको अनुहार धपक्क बल्यो।आमाको स्वागत निम्ति उनले एक हातमा फूलको गुच्छा र अर्को हातमा खादा बोकेका थिए। उनी घरि फूलको गुच्छा र खादा सुम्सुम्याउँथे, घरि श्रीमतीको हात बेस्सरी समाउँथे।
उनकी श्रीमती स्मृति पनि हात कसिलो बनाएर श्रीमानलाई साथ दिँदै थिइन्।विक्रम र स्मृतिको हातको गाँठो पारिवारिक मिलनको सूचक बनिरहेको बुझ्न कठिन थिएन।जहाज अवतरण गरेको सन्देश सूचना पाटीमा आएपछि स्वागतार्थ उभिएकाहरूका आँखा आफन्तजनको खोजीमा एकोहोरिन थाले।विक्रम प्रतीक्षालयभन्दा माथि भित्री स्वागत कक्षमा जान सिँढी उक्लिए।
श्रीमती पछि लागिन्।मोबाइलको घडीले सवा ११ बजाइसकेको थियो। आगन्तुक कक्षबाट बाहिरिने हरेक यात्रुको अनुहारमा उनी आँखा डुलाउँथे।यात्रुको पंक्तिमा कोही महिला देखे भने झन् घोरिएर हेर्थे र मोबाइलको स्क्रिनमा आँखा पुर्याउँथे।आमाले चीनबाट हालसालैको आफ्नो फोटो पठाइदिएकी थिइन्।
विक्रमले त्यो फोटो मोबाइलको डिस्प्लेमा राखेका थिए।आमा पर्खिंदा-पर्खिंदै मैले त सबै यात्रुलाई आफ्नै आमा पो देख्न थालेँ!' उनले श्रीमतीसँग भने।जतिखेर पनि हँसमुख स्मृति श्रीमानको कुराले केही गम्भीर देखिइन्।उनी कहिल्यै नदेखेकी सासूलाई कसरी स्वागत गर्ने भनेर सोचमग्न थिइन्। हातमा फूलको गुच्छा थमाउने कि खुट्टामै ढोग्ने भनेर उनलाई दुबिधा भइरहेको थियो।
उनी श्रीमानको कुराले झसंग भइन्।तिमी जहिल्यै आत्तिन्छौ विशाल। आमा आइहाल्नुहुन्छ नि,' उनी यति भनेर फेरि आफ्नो दुबिधामा फर्किइन्।त्ति बेला बाहिर झरी थामिएर झलमल्ल घाम लागेको थियो। मौसमजस्तै विक्रमको मनोदशा घरिघरि बदलिइरहेको थियो।
सायद उनले के गर्ने कसो गर्ने मेसो पाउन सकेका थिएनन्।यात्रुका अनुहारमा जति आँखा डुलाए पनि उनले आफ्नो मोबाइलको डिस्प्लेमा राखेको तस्बिरसँग कसैको अनुहार मेल खाएन।
केही बेर उभिएपछि विक्रम कुर्सीमा टुसुक्क बसे। स्मृति पनि आडैमा बसिन्।त्यसै क्रममा स्वागत कक्षको भित्री कुनाबाट एक जना महिला यात्रु बाहिर आइन्।
ती महिलाले सेतो टि-सर्ट र कालो सुरूवाल लगाएकी थिइन्। दायाँ हातमा 'नेपाल' लेखिएको कागजको झोला झुन्ड्याएकी थिइन्।
हलुका चप्पल लगाएकी उनको हुलिया छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीले भनेअनुसार विक्रमकी आमासँग मिल्दो थियो।
यसबीच आमा पर्खिरहँदा विक्रमको मथिङ्गलमा अनेक चित्र सलबलाएका थिए। आमाको आकृतिका अनेक छटा कुँदिएका थिए। आँखामा आमाका अनेक रूप र बान्कीहरू देखापरेका थिए।कल्पना र सपनामा आएका कुनै रूप र बान्कीसँग आमा मेल खाएकी थिइनन्!
उताबाट आइरहकी महिलाले पनि बालखमै छाडेर गएको छोराको अनुहार ठम्याउन सकिनन्। बुहारी त झन् चिन्ने कुरै भएन!तर यहाँ अचम्म के भयो भने, बुहारीले नै सबभन्दा पहिला सासू चिनिन्!स्टिलको बारमा अडेस लागेकी स्मृतिले हात हल्लाइन्।ती महिलाले पनि हात हल्लाउँदै जवाफ फर्काइन्।
उनै थिइन्, सानुमाया तामाङ — विक्रमकी आमा।