पहिरोमा परी ३ वर्षका बालकको ज्यान गयो, ३ जना बेपत्ता

दोलखामा पहिरोमा परेर तीन वर्षका एक बालकको ज्यान गएको छ । यस्तै पहिराेमा परेर तीन जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।


गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गए राति पहिरो गएको हो । पहिरोको विस्तृत जानकारी आउन सकेको छैन । तर पहिरोले पाँच घर बगाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा परेर ज्यान गुमाएका तीन वर्षका प्रिन्स थामीका आमाबुवाको नाम खुल्न बाँकी छ भने घाइते भएकाको पनि परिचय खुलेको छैन । दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको छ । एक जनाको भने दोलखामा नै उपचार भइरहेको छ ।

यस्तै पहिरोमा परेर हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताउनुभयो ।

Post a Comment

Previous Post Next Post