रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गको नुनथर मन्दिर जाने बाटोनजिक बिहीबार ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । घटनापछि मृतकका आफन्त र स्थानीयले ट्रकमा आगो लगाएका छन् ।
घटनास्थलमा अहिले तनाव देखिएको छ । ट्रकमा लागेको आगो निभाउन गएको नगरपालिकाको वारुणयन्त्रमा पनि स्थानीयले ढुंगा प्रहार गरेर क्षति पुर्याएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पैदलयात्री चन्द्रपुर-१ बस्ने ५५ वर्षीया होममाया मगरलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनायो । घटनापछि आक्रोशित स्थानीय बासिन्दाले ट्रकमा आगो लगाएका छन । अहिले त्यस क्षेत्रको अवस्था तनावपूर्ण छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालयका डीएसपी एकनारायण कोइरालाको नेतृत्वमा टोली पुगेको छ । ट्रकमा लागेको आगो निभाउन पुगेको ना १ झ ६८८ नम्बरको वारुण यन्त्रमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।
अहिले पूर्व-पश्चिम् राजमार्गमा यातायात अवरुद्ध भएको छ । डीएसपी कोइरालाले स्थानीयलाई सम्झाएर बाटो खुलाउने काम भइरहेको बताए ।