हार्दिक श्रद्धाञ्जली समयमै अस्पताल पुर्‍याउन नसक्दा शिशुसहित सुत्केरीको मृत्यु


सुत्केरी व्यथा लागेको झण्डै २४ घण्टापछि रुकुम पूर्वमा शिशुसहित एक सुत्केरी महिलाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–१ भट्टेचौरकी २५ वर्षीया सपना बुढा र उनको नवजात शिशुको उपचारका क्रममा कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा शनिबार बिहान ११ बजेतिर ज्यान गएको हो ।

शुक्रबार बिहानदेखि सुत्केरी व्यथाले च्यापेपछि बुढालाई स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याइएको तर त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान मात्रै हेलिकोप्टर मार्फत सुर्खेत लगिएको थियो । तर ढिलो गरी अस्पताल पुर्‍याउँदा आमा र बच्चा दुवैको ज्यान गएको स्वास्थ्यकर्मीहरूले बताए ।

यसअघि तीन सन्तानलाई जन्म दिएकी सपनाको यसअघिको सन्तानको पनि प्रसूतिकै क्रममा ज्यान गएको थियो । यसपटक हर तरहबाट प्रयास गर्दा पनि सफल नभएको सिस्ने स्वास्थ्य चौकीका प्रमुख अहेव काशिराम ओलीले बताए । ‘हामी हेलिकोप्टर पर्खिएर हिजोदेखि आज बिहानसम्म सकेको धेरै प्रयास गर्‍यौं । हेलिकोप्टरबाट सुर्खेत पठाएपछि ज्यान जोगिन्छ भन्ने लागेको थियो । तर सम्भव भएन ।

धेरै रक्तस्राब भएको, रक्तसंञ्चार कम भएको जस्ता समस्या देखिएकाले सुत्केरीको ज्यान जोगाउन मुस्किल भएको सुर्खेतस्थित स्वास्थ्यकर्मीहरूले बताए ।


लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाका रुपमा रहेको रुकुमपूर्वमा जनस्वास्थ्यको अवस्था निकै कमजोर देखिन्छ । उच्च पहाडी र हिमाली भेगका सिस्ने–१ र २ का साथै अन्य केही ठाउँमा सडक पुगेकै छैन भने सडक पुगेका ठाउँमा पनि वर्षायाममा बिग्रिएका कारण सवारी पुग्ने अवस्था छैन ।


दुर्गम गाउँमा सुत्केरी व्यथा र अरु पनि स्वास्थ्य उपचारका लागि गाह्रो भएपछि मात्रै अस्पताल पुग्ने गरेका कारण जनस्वास्थ्यको अवस्था निकै कमजोर रहेको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले बताए । रुकुमसहित थुप्रै जिल्लामा हरेक वर्ष नियमित स्वास्थ्य परीक्षण तथा प्रसूतिका लागि समयमै अस्पताल पुर्‍याउन नसक्दा महिलाहरूको मृत्यु हुने गरेको छ ।

Post a Comment

Previous Post Next Post