ठोरीमा बाघको आक्रमणबाट एक जनाको गयो ज्यान

बाघको आक्रमणमा परी ठोरी गाउँपालिका– ५ सुवर्णपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय कान्छालाल दोङ छन् । घर नजिकको बारीमा उनको शव बुधबार राति करिब ७ बजे फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार, बुधबार बिहान करिब ११ बजे कान्छालालले घरको केही दुरीमा रहेको बारीमा चरनका लागि २ वटा गोरु बाँधेका थिए ।

दिउँसो करिब २ बजे गोरुको अवस्था हेर्न गएका उनी त्यसपछि फर्केर आएनन् । परिवारजनले कान्छालाल नफर्केपछि प्रहरीको सहयोगमा खोजतलास गरेका थिए । एउटा गोरु भने बाँधेको किला फुत्काएर घरमा आएको थियो । बारीमा गएर हेर्दा अर्को गोरु बाघको आक्रममा परी घाइते अवस्थामा भेटिएको थियो । त्यहाँबाट करिब ५० मिटरको दुरीमा खाल्डोमा कान्छालालको शव भेटिएको थियो ।

उनको गाला, घाँटी, टाउको, हात लगायत शरीरका विभिन्न स्थानमा बाघको नङको निशान भेटिएको थियो ।घटनास्थलबाट करिब एक किलोमिटर उत्तरमा पर्सा राष्ट्रिय निकुन्ज रहेको छ । निकुन्जबाट आएको बाघले आक्रमण गरेर कान्छालालको ज्यान लिएको अनुमान गरिएको प्रहरी निरीक्षक राइले बताए । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको उनले बताए ।

Post a Comment

Previous Post Next Post