वैदेशिक रोजगारीमा गएका ४ नेपालीको मृत्यु

गत असार १३ गते साउदी अरबको अमेरिकी दूतावासमा काम गर्ने बागलुङ नगरपालिका १३ पैंयुपाटाका नैनसिं नेपालीको बन्दुकधारीहरूले गोली हानी हत्या गरे ।

साउदीमै काम गर्ने जेठो छोरा अभिशेषले बाबुको शव नेपाल ल्याएर अन्तिम संस्कार गरे । केही समयअघि रुपन्देहीको तिलोत्तमामा बस्न थाले पनि बसाइँसराइ नभएकाले उनीहरूको कागजात बागलुङकै छ । सन् २००१ मा कन्सुलेटमा काम गर्न गएका परियार पछि दूतावासको सेक्युरिटी गार्ड थिए ।

९ महिनाअघि छोरा अभिशेष पनि साउदीमै काम गर्न गए । उनले पनि दूतावासमै काम गर्थे । ड्युटीमा हुँदा मृत्यु भएकाले दूतावासले दिने बिमा र अन्य राहतका लागि उनी सुरक्षित आप्रवासन कार्यक्रम सामीको जिल्लास्थित आप्रवासी स्रोत केन्द्रमा कागजात लिएर आएका छन् ।

केन्द्रकी परामर्शकर्ता गंगा शर्मा रिजालले आवश्यक कागजात संकलन गरेर वैदेशिक रोजगार बोर्डमा पठाउन लागिएको बताइन् । श्रम स्वीकृति र आवश्यक कागजात मिलाएर विदेश गएकाहरूको मृत्यु भएमा तत्काल क्षतिपूर्ति र राहत तथा बिमा रकम उपलब्ध गराउन सकिन्छ । कागजात नहुँदा कतिपयले बिमा रकमसमेत पाएका छैनन् ।रिजालको कक्षमा विदेशमा मृत्यु भएकाले आवश्यक सहयोग गरिदिन ४ निवेदन आएका छन् ।

चारै जना असार महिनामा मात्रै मृत्यु भएका हुन् । मृत्यु हुनेमा बागलुङको निसीखोला गाउँपालिका २ का दुई जना, काठेखोला गाउँपालिका २ का एक जना र बागलुङ नगरपालिका– १३ का एक जना छन् । निसीखोला २ का प्रेमबहादुर दमाईको मलेसियामा, निसीखोला–२ कै गोकुल कार्कीको दुबईमा र काठेखोला २ का ऋषिराम शर्माको साउदी अरबमा मृत्यु भएको हो ।

कोठाभित्र मृत भेटिएका शर्माको भने एक महिना बित्नै लाग्दा पनि अझै शव आएको छैन । अन्य तीन जनाको भने शव ल्याएर दाहसंस्कार भइसकेको छ । आवश्यक कागजात नभएकाले उनको शव ल्याउन समस्या भएको वडाध्यक्ष विद्यापति शर्माले बताए ।

ड्युटीमा खटिँदा मृत्यु भएको वा अन्य घटना भएको र कोठामा मृत भेटिनुमा पनि धेरै फरक पर्ने रहेछ,’ शर्माले भने, ‘आवश्यक पहल गरिरहेका छौं, तर केही प्रक्रियागत समस्याले ढिला भएको हो ।’ वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिनुपर्ने, मान्यताप्राप्त संस्थाको माध्यमबाट जानुपर्नेलगायतको सल्लाह केन्द्रले दिने गरेको छ ।

Post a Comment

Previous Post Next Post