ट्राफिक प्रहरीको तथ्यांकअनुसार महोत्तरीमा प्रत्येक वर्ष सवारी दुर्घटना बढ्दो देखिएको छ । जिल्लामा एक वर्षमा १ हजार ११ सवारी दुर्घटनामा परी ६८ जनाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष दुर्घटना बढ्दै गएको देखिएको छ ।
तीन आर्थिक वर्षको प्रहरीको तथ्यांकअनुसार जिल्लामा पछिल्लो आर्थिक वर्ष ०७९/०८० मा सबैभन्दा बढी १ हजार ११ सवारी दुर्घटनामा ६८ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ ।२०७७/०७८ मा ६ सय ५४ सवारी दुर्घटनामा परेका थिए ।
दुर्घटनामा ६३ जनाको मृत्यु भएको थियो भने ०७८/०७९ मा ९ सय २१ सवारी दुर्घटनामा ५४ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रत्येक वर्ष बढी दुर्घटना हुने सवारीमा मोटरसाइकल रहेको छ । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा महोत्तरीमा ७ सय ३४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।१५ प्रतिशत राजस्व बढाउने र १० प्रतिशत दुर्घटना घटाउने ट्राफिक प्रहरीको लक्ष्यअनुरूप जिल्लामा काम गरिरहेको भए पनि सवारी चालकले ट्राफिक नियमविपरीत लापरवाही तबरबाट सवारी चलाउने गरेका कारण दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रविन कार्कीले बताए ।
ट्राफिक प्रहरीको निगरानी रहेको जिल्लाको पूर्व–पश्चिम राजमार्ग, बीपी राजमार्ग, गौशाला सम्सी सडक खण्ड र बर्दिवास जलेश्वर सडक खण्डमा भन्दा भित्री सडकमा बढी सवारी दुर्घटना हुने गरेको कार्कीले बताए ।
तीव्र गतिमा सवारी चलाउनु, सडक सञ्जाल राम्रो नहुनु, क्षमताभन्दा बढी भार बोक्नु, पुराना सवारी सञ्चालनमै रहनु, मापसे गरेर सवारी चलाउनु, ट्राफिक नियमको पालना नगर्नुजस्ता कारण सवारी दुर्घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।राजस्वमा भने ट्राफिक प्रहरीको लक्ष्यभन्दा झन्डै दोब्बर राजस्व महोत्तरी ट्राफिकले संकलन गरेको कार्यालयले जनाएको छ ।
१५ प्रतिशतले राजस्व बढाउने ट्राफिक प्रहरीको लक्ष्यअनुसार काम गर्दा महोत्तरीमा आर्थिक वर्ष ०७९/०८० मा २८ प्रतिशतले राजस्व वृद्धि गर्दै ३ करोड २३ लाख ६८ हजार ५ सय संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्षमा महोत्तरी ट्राफिक प्रहरीले २ करोड ५३ लाख १९ हजार ५ सय राजस्व संकलन गरेको थियो । यस वर्ष ट्राफिक नियम पालना नगर्ने ४३ हजार ३ सय सवारी कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।