मकवानपुरको बागमती गाउँपालिका–५ मा पहिरोमा परि हराएका मध्ये ४ जनाको मृत्यु भएको छ भने अझै २ जना हराइरहेका छन् ।
गत सोमबार रातिको अविरल वर्षाका कारण स्थानीय सिक्रे खोल्सीको बाढीले ल्याएको पहिरोमा परि मङ्गलवार बिहान ४ बजेदेखि ७ जना हराइरहेका थिए ।हराएकामध्ये ३ जनाको शव बुधवार फेला परेको छ भने २ जनाको अवस्था अज्ञात छ । बुधवार खोजतलासको क्रममा बागमती–५
बस्ने वर्ष ६० का अक्कलबहादुर स्याङ्तानको शव फेला परेको थियो । उनको शव बुधवार दिउँसो १ : ४० बजेको समयमा सिन्धुली हरिहरपुर– १ कोकरे स्थित बागमती खोलाको बीच बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै बुधवार नै स्याङ्तानकी छोरी शिला पहरीको शव फेला परेको थियो । बुधवार बिहान ९ : १० बजेको समयमा सिन्धुली हरिहरपुर– १ कोकरेस्थित बागमती खोलाको बीच बगरमा वर्ष २२ की पहरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
उनका अनुसार पहिरोमा परि हराइरहेकी स्याङ्तानकी नातिनी दिव्या पहरीको शव बुधवार साँझ फेला पारिएको थियो । प्रहरीका अनुसार ९ महिनाकी दिव्याको शव घटनास्थलभन्दा झन्डै १२ किलोमिटर तल सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका वडा नम्बर– ३ बनौलीमा फेला परेको हो ।
पहिरोमा परि हराएका पाल्साङ घिसिङको मङ्गलवार साँझ जीवितै उद्धार गरिएको थियो । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने मङ्गलवार नै उद्धार गरिएकी सन्तमाया स्याङ्तानको उपचारको क्रममा मृत्यु भएको थियो । उनको मङ्गलवार नै उपचारको क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको हो ।एकै घरमा सुतेका उनीहरूलाई मङ्गलवार बिहान ४ : ०० बजेको समयमा सिक्रे खोल्सामा आएको भेल बाढी सहितको पहिरोले बगाएको थियो ।
पहिरोमा परि हराएका स्याङ्तानका ज्वाई २५ वर्षीय जिवन पहरी र ४ वर्षीय नाती मिलन पहरी अझै भेटिएका छैनन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।