खोलाले बगाउँदा बालकको मृत्यु

लमजुङ र तनहुँको सिमाना पाउँदीखोलाले बगाउँदा एक जना स्कुले बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा सुन्दरबजार नगरपालिका-६, ऐँसेलुचौरका १० वर्षीय समर्पण परियारलाई खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार शुक्रबार दिउँसो पौने २ बजेतिर बालकलाई खोलाले बगाएको र मृत अवस्थामा भेटिएको बताए ।खोलाले बगाएको उनको शव सुन्दरबजार नगरपालिका-६ र तनहुँको भानु नगरपालिका-११, मानेचौका जोड्ने पुलनजिकै तनहुँतर्फ भेटिएको प्रहरीले जनाएको छ ।

बालकलाई उद्धार गरे पनि उनको मृत्यु भइसकेको घटनास्थल पुगेका सुन्दरबजार प्रहरी चौकी प्रमुख वरिष्ठ सई रामकृष्ण अधिकारीले बताए । उनका अनुसार पौडी खेलेको ठाउँबाट बालकलाई करिब ४ सय मिटर तल खोलाले बगाएर लगेको अवस्थामा शव भेटिएको थियो ।

सुन्दरबजार नगरपालिका-६, शित्तलचौतारीस्थित आदर्श प्रावि कक्षा ४ मा पढ्दै आएका उनी परीक्षाको बिदा भएको बेला अर्का एकजना साथीहरुसँगै पौडी खेल्न पाउँदी खोला गएका थिए । पौडी खेल्दा खेल्दै खोलाले बगाएर लगेको र मृत्यु भएको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पतालतर्फ पठाइएको सुन्दरबजार प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post