बाढीले बगाउँदा दुई जनाको मृत्यु

सर्लाहीस्थित वाग्मती नदी र बाँके नदीमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । नदीमा फसेको दुई जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती नदीमा आएको बाढीले बगाउँदा रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको मृत्यु भएको हो । भाट मंगलबार बिहान सर्लाहीको राजघाटस्थित खेतमा काम गर्न आएको बेला बाढीको चपेटामा परेका थिए ।

भाट खेतमा काम सकेर समनपुर घाटमा रहेको पुलमा पुग्न खोज्दा बाढीले बगाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मानिस बगाएको देखेपछि स्थानीयले तत्काल उद्धार गरे पनि उनी गम्भीर घाइते बनेका थिए । भाटको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

यस्तै सर्लाही-महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ । सोमबार राति नै घर परिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवनको लत्तमा फसेका उनी के कति कारणले खोलामा गएको भन्ने बारेमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला भएर बग्ने अधिकांश नदी तथा खोलाको बहावले खतरा पार गरिरहेको छ । वाग्मती नदीले बरहथवा नगरपालिका–१ वाग्मतीको बाँध फुट्न थालेपछि मर्मतको काम गरी बाँधलाई जोगाइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उनका अनुसार जोखिम रहेको क्षेत्रमा रेस्क्यू टिम खटाइसकिएको जानकारी दिए

Post a Comment

Previous Post Next Post