अर्जुन शाह, धनगढी, ११ भदौ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजन लाल चौधरीको पत्थरीको अप्रेसनका क्रममा आइतबार राति मृत्यु भएको छ । पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तस्राव हुँदा डाक्टरले फेरि अप्रेसन गरेर बायाँ मिर्गौला नै
झिकिदिएको चौधरीका आफन्तले बताएका छन् । धनगढीस्थित स्वस्तिक मल्टिस्पिसियालिटी अस्पताल प्रालिमा शुक्रबार भर्ना गरिएका चौधरीको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेका पत्थरी झिक्न अप्रेसन गरिएको थियो ।
बिरामीका भतिजा राजकुमार चौधरीका अनुसार दिउँसो ३ बजे अप्रेसन गरिएको थियो । ‘अप्रेसन सकिएपछि डाक्टरले सुरुमा अप्रेसन राम्रो भो भने । झिकेको पत्थरी पनि देखाए । हामी खुसी भयौँ,’ उनले भने, ‘करिब एक घण्टापछि भेट्न गयौँ । बुबाले पेट दुख्यो भन्नु भो, हामीले डाक्टरलाई भन्यौँ, डाक्टरले सुई लगाए । तर निको भएन । पेट फुल्न थाल्यो । त्यसपछि हामी आत्तियौँ ।
राजकुमारका अनुसार राति ८ बजेतिर बिरामीलाई धेरै अप्ठेरो भयो । ‘त्यसपछि फेरि डाक्टरलाई जानकारी गरायौँ । अनि डाक्टरले त किड्नीको नसा काटियो, अत्यधिक रक्तस्राव भयो, अब बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने पो भन्न थाले । त्यसपछि बाध्यतावश हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिक्दिनुस्, हामी ज्यान रोज्छौँ भन्यौँ,’ चौधरीले भने, ‘राति २ बजे किड्नी पनि निकाले ।
ल ज्यान दिएँ भने ।’ तर फेरि आइतबार बिहान अस्पताल प्रशासनका व्यक्तिहरूले बिरामीको अवस्था क्रिटिकल छ भन्न थाले । बिरामीलाई आइसियुमै राखिएको थियो । ‘हामी भेट्न गयौँ । उहाँको त श्वास मात्रै बाँकी थियो,’ चौधरीले भने, ‘दिउँसो २ बजे त डाक्टरले अब बचाउन सकिँदैन भन्न थाले ।’ चौधरीका अनुसार त्यसै क्रममा आइतबार राति अस्पतालका अध्यक्ष महेश जोशीले ‘बिरामीको मृत्यु भइसक्यो, कति पैसा चाहिन्छ लिनुस्, हल्ला नगरिदिनु होला, लैजानुस् भन्न थाले ।
अस्पतालका अध्यक्ष जोशीले अप्रेसनका क्रममा अत्यधिक रक्तस्राव भएको र बायाँ मिर्गौला झिक्नु परेको बताए । ‘बिरामीको मृत्यु भइसक्यो, हामीले आफन्तलाई पनि भनिसक्यौँ,’ जोशीले भने । बिरामीका आफन्तका अनुसार ४ छोरी २ छोरा रहेका चौधरीलाई पेट दुख्ने समस्या पनि थिएन सुरुमा ।
घरको सिँढीबाट लडेर चोट लागेपछि उपचारका लागि धनगढी ल्याइएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा मिर्गौलामा पत्थरी रहेको थाहा भएको भतिजा राजकुमार चौधरीले बताए । उनले भने, ‘अस्पतालमा एक लाखमा पत्थरीको अप्रेसनको कुरा भएको थियो ।’ यो समाचार ई कान्तिपुर डटकमबाट साभार गरिएको हो ।