जंगलमा निगुरो टिप्न गएका रत्ननगर नगरपालिका–७ का ७५ वर्षीय नवराज अधिकारी शुक्रबार बिहान मृत भेटिएका छन् । उनी बिहीबार निगुरो टिप्न भन्दै सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनमा गएका थिए ।
उनलाई गैंडाले आक्रमण गरेको हुन सक्ने वनका पदाधिकारीहरूको अनुमान छ ।चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार शुक्रबार बिहान साढे सात बजेतिर अधिकारीको शव फेला परेको हो । हिजोदेखि जंगल गएका नवराज घर नफर्केपछि परिवारले आज बिहानैदेखि खोजी सुरू गरेको थियो ।
शरीरका विभिन्न भागमा लागेको चोट र घटनास्थलको अवस्था हेर्दा उनलाई जंगली जनावरले आक्रमण गरेको हुन सक्ने चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तमाङ नवराजलाई गैंडाले आक्रमण गरेको हुन सक्ने बताउँछन् ।'घटनास्थल वरपर गैंडाको पैतलाका डोबहरू छन् । त्यो हेर्दा र घाउको अवस्था हेर्दा गैंडाले आक्रमण गरेको देखिन्छ,' अध्यक्ष तमाङले भने ।
बाघमारा मध्यवर्ती सामुदायिक वन बाघ गैंडाको राम्रो बासस्थल हो । त्यहाँ बच्चासहितका गैंडाहरू बस्छन् । जंगली जनावर प्रशस्तै भएका कारण बाघमारा वनमा हात्ती सफारी गर्नेहरू अत्यधिक जाने गर्दछन् ।