कैलालीमा मृत भेटिएकी मञ्जु रावलको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । डेढ महिनादेखि बेपत्ता लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया रावलको सामुदायिक वनभित्र शव फेला परेको थियो । प्रहरीले खोजी गर्दैगर्दा रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला पारेको थियो ।
रावल जेठ २५ गतेदेखि बेपत्ता भएकोमा (हिजो) आइतबार शव फेला परेको हो । शव फेला परेपछि अनुसन्धान थालिएकोमा रावलको हत्या आरोपमा हिजै चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार लम्कीचुहा नगरपालिका– ४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, सोही ठाउँकी बर्षा रावल, २४ वर्षीय भरत रावल र अछाम पञ्चदेवल विनायक नगरपालिका– ६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई हत्या आरोपमा पक्राउ गरिएको हो ।
उनीहरूले मञ्जुको योजनाबद्ध रूपमा हत्या गरेको र घटनाको अनुसन्धान गर्ने क्रममा मञ्जु र गोमा रावलबीच अंशको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा घटना घटेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार १४ साउनमा मञ्जुका छोरा विवेक रावलले वकिललाई भेट्न मसुरिया जान्छु भनि आफ्नी आमा गएको तर बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए ।