जनकपुरधामको रामानन्द चोकस्थित सुरक्षा अस्पतालमा उपचारका लागि आएकी एक महिलाको मृत्यु भएको घटना पैसा लेनदेन गरी मिलाइएको खुलेको छ । यस घटनामा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले स्पष्टीकरण सोध्दा २०७८ सालमा दर्ता भएको यो अस्पताल नवीकरण नभएको पाइएको छ ।
पाठेघरको उपचारको लागि गत साउन ३ गते अस्पताल भर्ना भएकी जनकपुरधाम–१६ कपिलेश्वरकी ३६ वर्षीया सोनिया साहको दुई दिनपछि मृत्यु भएको थियो । वडा नं. १६ का वडाध्यक्ष रामचन्द्र पंजियारको समन्वयमा मृतक परिवार र अस्पतालबीच रकम लेनदेन गरी मिल्ने निर्णय भएको हो ।
अस्पतालविरुद्ध मुद्दा मामिला गर्नेतर्फ नगई मिल्ने निर्णय भएको वडाध्यक्ष पंजियारले बताए । ‘घटनापछि मृतकको घर छेउकै महादेव मन्दिरमा गाउँ समाजको भेला बसेको थियो । त्यहाँ आपसमै मिल्ने कुरा भयो । विवादमा अगाडि नबढौं । गरिब मान्छे छन् । कहाँ मुद्दा बोकेर हिँड्ने काम गर्छन् भनेर,’ उनले भने ।
मृतकको परिवार स्रोतका अनुसार घटनामा अस्पतालले मृतक परिवारलाई क्षतिपूर्ति वापत ११ लाख रुपैयाँ नगद दिने सहमति भएको छ । ११ लाख रुपैयाँको चेक वडाध्यक्ष पंजियारको नाममा अस्पतालले दिएको स्रोतले बतायो ।
अस्पतालमा महिलाको मृत्युपछि पाँच घण्टासम्म गेटमा शव राखेर चिकित्सक र अस्पताललाई कारबाहीको माग गर्दै परिवारका सदस्यहरुले प्रदर्शन गरेका थिए । तर मृतक परिवार जाहेरी दिन प्रहरी कार्यालय पुगेको छैन । घटनाको भोलिपल्ट जाहेरी दिने कुरा भए पनि हालसम्म मृतक परिवार नआएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । आपसमा रकम लेनदेन गरी मिलेको कारण मृतक परिवार जाहेरी दिन नआएको हुन सक्ने प्रहरीको अनुमान छ । उनले अस्पतालविरुद्ध जाहेरी दर्ता नभए कारबाही प्रक्रिया अघि बढाउन कठिन हुने बताउँछन् ।