पतिको कुटपिटबाट दुई वर्षीया छोरीको मृत्यु, पत्‍नी घाइते

ओखलढुंगा — सिद्धिचरण नगरपालिका–३ अँधेरीका ३५ वर्षीय राजेन्द्र राईले सोमबार राति दुई वर्षीया छोरी ऋतिका राईको हत्या गरेका छन् ।

उनले श्रीमती २१ वर्षीया उषा राईलाई समेत कुटपिट गरी घाइते बनाएका छन् । घाइते उषाको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।मादक पदार्थ सेवन गरेका राई र उनकी श्रीमती उषाबीच विवाद भएको थियो । सोही विवादको विषयलाई लिएर उनले श्रीमतीमाथि आक्रमण गरेका थिए ।

प्रहरीका अनुसार आक्रमण गर्न थालेपछि छोरी लिएर भाग्न खोजेकी श्रीमतीबाट उनले छोरी खोसेका थिए । श्रीमती भने भाग्न सफल भइन् । पछि स्थानीय र प्रहरी पुग्दा छोरी मृत अवस्थामा भेटिएकी थिइन् ।प्रहरीले अभियुक्त राईलाई नियन्त्रणमा लिन दुई घन्टा लागेको थियो ।

हातमा खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिन कठिन भएको थियो । उनी आफैंले आफैंलाई समेत टाउकोमा काटेर घाइते भएका छन् ।अभियुक्तको समेत ओखलढुंगा सामुदायिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

अभियुक्त राई चार वर्षअघि जर्बजस्ती करणी उद्योगको मुद्दामा परी केही समय कारागारमा बसेका थिए । अभियुक्त र उनकी श्रीमती दुवै घाइते भएकोले थप कुरा आउन केही समय लाग्ने प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Post a Comment

Previous Post Next Post