झुलंगे पुल भाचिंदा १४१ जनाको मृत्यु


नयाँदिल्ली — भारतीय राज्य गुजरातको मोरबीस्थित मच्छु नदीमा आइतबार भएको पुल दुर्घटनामा मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ । अझै केही मानिसहरू नदीमा हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।

१ सय ४० वर्ष पुरानो झोलुंगे पुल आइतबार साँझ भाँचिएर नदीमा खसेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भाँचिएका बेला पुलमा ४ सय जनाभन्दा बढी थिए । हराइरहेकाहरूको खोजी भइरहेको जनाइएको छ । मृतकमध्ये ४५ जना १८ वर्षमुनिका बालबालिका छन् । दुर्घटनापछि १ सय ७० जनालाई जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् ।

गत मार्चदेखि मर्मतसम्भारका लागि बन्द गरिएको पुल गुजराती नयाँ वर्ष तथा दीपावलीका अवसरमा सर्वसाधारणका लागि खुला गरिएको थियो । तर, नगरपालिकाले पुल मर्मत सम्पन्न भएको प्रमाणपत्र नदिँदै पुल सर्वसाधारणका लागि खुला गरिएको तथ्य बाहिरिएको छ । स्थानीय प्रहरीले पुल मर्मतमा संलग्न ९ जनालाई पक्राउ गरेर उनीहरूमाथि हत्याको मुद्दा चलाएको छ । पुल भाँच्चिँदा सयौं मानिस नदीमा खसेका थिए । घटनाबारे थप छानबिन भइरहेको प्रहरीको भनाइ छ ।

मोरबीका राजा सर बाघजी ठाकोरले बनाउन लगाएको उक्त पुलको उद्घाटन सन् १८७९ मा तत्कालीन अंग्रेज गभर्नर रिचर्ड टेम्पलले उद्घाटन गरेका थिए । पुल निर्माणका लागि आवश्यक सबै सामग्री बेलायतबाट मगाइएको थियो । त्यतिबेला उक्त पुलको निर्माण लागत ३ लाख ५० हजार थियो । पुरानो तथा कलात्मक भएकाले पुल हेर्न मात्रै पनि ठूलो संख्यामा पर्यटकहरू गुजरातको मोरबी सहर पुग्ने गरेका थिए ।

युरोपका आधुनिक प्रविधि प्रयोग गरी बनाइएको पुलले मोरबीमा शाही समयको झल्को दिने गरेको थियो । निर्माणको समयमा पुललाई कलात्मक र प्राविधिक चमत्कारको संज्ञा दिइएको थियो ।

पुलको निर्माणमा सर बाघजी ठाकोरमा औपनिवेशिक युगको वास्तुकलाको स्पष्ट प्रभाव रहेको बताइन्छ । दरबारगढ र नजरबाग दरबारका शाही निवासलाई जोड्ने पुल २३३ मिटर लामो र १.२५ मिटर चौडा थियो ।

निर्माणपछि पुलको विभिन्न समयमा मर्मत हुँदै आएको थियो । गुजरातमा सन् २००१ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेको पुलको पुनर्निर्माण गरिएको थियो । पछिल्लो पटक दीपावली अगाडि २ करोड रुपैयाँ खर्चेर पुलको मर्मत गरिएको थियो । आफ्नो मातहतमा रहेको पुललाई मोरबी नगरपालिकाले ‘ओरेवा ग्रुप’ लाई १५ वर्षका लागि रेखदेख, व्यवस्थापन र सञ्चालनको जिम्मा दिएको थियो ।

नगरपालिकाले भने कुनै जानकारी नै नदिई पुल सर्वसाधारणका लागि खोलिएको भन्दै घटनाका लागि ओरेवा ग्रुप दोषी रहेको जनाएको छ । पुलमा जानका लागि बालबालिकालाई १२ र वयस्कका लागि १७ रुपैयाँको टिकट तोकिएको थियो । ओरेवा समूहले घडी, विद्युतीय मोटरसाइकललगायतका सामग्रीहरू उत्पादन गर्ने गर्छ ।

पुलमा एकपटकमा एक सय जना मात्रै चढाउन मिल्ने क्षमता तोकिएको थियो । तर, आइतबार दुर्घटनाका समयमा पुलमा क्षमताभन्दा चार/पाँच गुणा मानिस थिए । साँझ साढे ६ बजे पुल खस्दा त्यहाँ ४ सयदेखि ५ सय मानिस रहेका थिए । जसका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको स्थानीय प्रशासनले जनाएको छ । घटनापछि सेना, प्रहरी तथा स्थानीयहरू रातभरि उद्धार कार्यमा जुटेका थिए ।

भारतको केन्द्र सरकारले मृतकको आश्रित परिवारलाई दुई लाख तथा घाइतेलाई ५० हजार त्यस्तै गुजरात सरकारले मृतक परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरिसकेको छ । विपक्षी दल कांग्रेसले गुजरातमा हुन लागेको चुनावलाई हेरेर सत्तारूढ भाजपाले हतारमा सर्वसाधारणका लागि पुल खोलेको आरोप लगाएको छ । उसले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार गुजरात पुगेर मृतकको परिवारप्रति समवेदना प्रकट गरेका छन् । त्यसका साथै, दुर्घटनामा घाइतेहरूको उपचार तथा उद्धार कार्यको जानकारी लिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सोमबार ट्वीट गर्दै देउवाले मृतक परिवारप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

Post a Comment

Previous Post Next Post