एक दम्पती, जसले १८ वर्षदेखि आफ्ना छोराहरूलाई ओछ्यानमै स्याहारिरहेछ


एक दम्पती, जसले १८ वर्षदेखि आफ्ना छोराहरूलाई ओछ्यानमै स्याहारिरहेछसिन्धुपाल्चोक: सुकुमाया तामाङ र निङ्मान तामाङका चार सन्तान छन्। जसमध्ये १८ वर्षीय सुजन, १५ वर्षीय दावा र १३ वर्षीय कुलबहादुर पूर्ण रूपमा उभिन सक्दैनन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, करङ्गैराका तामाङ दम्पतीको दैनिकी तीनै छोराहरूको स्याहारमा बितेको छ । जोडीले १८ वर्षदेखि अपांगता भएका तीन छोराको स्याहार गर्दै दैनिकी गुजार्दै आएका छन् ।३५ वर्षीया सुकुमाया र उनका ४९ वर्षीय श्रीमान निङ्मानले मजदुरी र घरधन्दाको थप जिम्मेवारी पालैपालो सम्हालेर छोराहरूको हेरचाहमा समय दिन्छन् ।

तामाङ दम्पतीबाट जन्मिएका चार सन्तानमध्ये तीन छोरामा जन्मजात अपांगता देखिएको हो ।लुला हातखुट्टा भएका तीनैजना बोल्न सक्दैनन् । छेउमा कोही मानिस आएर अनुहारमा हेर्दा यताउता चलमल गरेर फिस्स हाँस्छन् । जेठो सन्तान २१ वर्षीया छोरी दावाडोल्मु कामको खोजीमा बाहिर गएकी छन् ।

तीनैजना छोरा सधैँ ओछ्यानमा सुतिरहँदा निकै पीडा हुने उनीहरूले बताए । उनीहरूको जायजेथाको नाममा जस्तापाताले बेरेको सानो छाप्रो र थोरै पाखोबारी छ । जीवनमा आनन्द, सन्तोष, खुसीजस्ता सुखका क्षणको अनुभूति गर्न नपाएको उनीहरूको गुनासो छ । उनीहरू सन्तानको मायाले घर छोडेर कतै जान पनि सकेका छैनन् 

‘सानो छँदा पालनपोषण गर्न पनि सजिलो हुन्थ्यो,’ जेठा छोरा सुजनबारे निङ्मानले भने, ‘जति ठूलो भयो त्यति नै सम्हाल्न कठिन भएको छ ।’ छोराहरूको उपचार गर्न उनले धेरै अस्पताल चहारे ।काठमाडौंको जोरपाटी र धुलिखेल अस्पताल थुप्रैपटक धाएको उनले बताए । ‘डाक्टरले उपचार हुन्छ भन्नुभएको थियो । तर, पैसा नभएकोले फर्काएर घर ल्याएँ,’ उनले भने । अपांगता भएका तीनैजना छोरालाई सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ ।

तर, त्यो रकमले घरखर्च नटर्ने उनको दुखेसो छ । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारिरहेका तामाङ परिवारलाई यदाकदा छरछिमेकले सामान्य सरसहयोग गर्छन् । छोराहरूलाई नियमित रूपमा कुरेर बस्नुपर्ने बाध्यताले पैसा कमाउन टाढा जान पनि सक्दैनन् ।

पूर्ववडाध्यक्ष कालीप्रसाद लामाले तीनैजनाको उपचारमा सहयोग गर्नका लागि सहयोग संकलन अभियान सुरु गरिएको बताए ।‘उपचारबाट बोल्न नसकेपनि उठेर हिँडडुल गराउनसके हेरालु बाबुआमाको पीडा कम हुन्थ्यो,’ लामाले भने । तीनैजनाको स्वास्थ्य परीक्षण गर्दा कुनै रोग नभएको डाक्टरले बताएका छन्अस्पताल लगेर आवश्यक रकम खर्च गर्न सक्यो भने छोराहरू हिँड्न र बोल्न सक्ने विश्वास तामाङ दम्पतीले गरेका छन् । ‘कतैबाट पैसाको जोहो गर्न सके हिँडडुल गर्न सक्थे कि भन्ने आशा छ,’ दम्पतीको भनाइ छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

Previous Post Next Post