काभ्रेमा पहिरोले पुरिएर छोरा,छोरी आमा सहित एकै परिवारका तीन जनाको मृ’त्यु

काभ्रेपलाञ्चोक (काभ्रे)मा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन भइरहेको खानीमाथिबाट झरेको पहिरामा परी घरसहित एकै परिवारका तिन जना पुरिएका हुन्। घटनापश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव निकालेको उनले बताए।

पालिकाभित्र सञ्चालित खानी तथा उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ताअगाडि मात्रै निर्देशन दिएको थियो। त्यस्ता उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पुर्याएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ।

Post a Comment

Previous Post Next Post