उदयपुरमा भएको एकैपरिवारको तीनजनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो ।
शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजुकमारकी श्रीमती सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् ।
शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बोक्सी लागेको हुनसक्ने बताएपछि विवाद भएको देखिन्छ ।
प्रहरीका अनुसार नातेदार समेत रहेका नरबहादुरले श्रीमतीलाई बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मुद्दा लाइदिन्छु भन्दै थर्काउन थाल्यो’, नरबहादुरको बयान छ, ‘त्यसपछि घाँस काट्न लिएर गएको खुकुरीले हानेँ ।
उनीहरुबीच अरु कुनै रिसिइबी पनि थियो कि भन्ने बारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । तर प्रारम्भिक सोधपुछमा घटनाको कारण यही देखिएको छ ।
प्रहरीका अनुसार उनले जंगलबाट घाँस काट्न लगेको खुकुरीले सुरुमा श्रीमान् राजकुमारलाई हानेका थिए । त्यसबेला उनी कुलोबाट खेतमा पानी लगाउँदै थिए । श्रीमती पनि खोला छेऊ थिइन् । श्रीमान्को हत्यापछि उनले श्रीमती सरितालाई पनि हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
पछि १२ वर्षका छोरा सुजन बस्नेतलाई देखेपछि उनलाई पनि खुकुरी प्रहार गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
तीनैजनाको शव हेर्दा धेरै पटक खुकुरी हानिएको देखिएको प्रहरी बताउँछ । शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी छ ।विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।