क ठै! दौडँदादौडँदै लडेका भरतको “अधुरै रह्यो देशको सेवा गर्ने सपना”

अछामको मेल्लेख गाउँपालिका ६ झडिगाउँका २१ वर्षीय भरत बोहराले बाल्यकालमा आमाको माया पाउन सकेनन्। चार वर्षको उमेरमा आमाले सदाका लागि छोडेर गएपछि बाले पालनपोषण गरेर हुर्काए।

केही वर्षपछि बाले दोस्रो विवाह गरेर कान्छीआमा भित्र्याएपछि उनैले भरतको स्याहारसुसार गरिन्। खेतीपाती र ज्याला, मजदुरी गरेर जेनतेन भरतले कक्षा १२ सम्मको अध्ययन गरे।

कमजोर आर्थिक अवस्थाका कारण उनले उच्चशिक्षा अध्ययन गर्न नसकिने भएपछि पढाइ रोकेर रोजगारी खोजी गर्न थाले। सोही बेला नेपाल प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि गाउँका अन्य साथीहरूसँगै उनले पनि आवेदन दिए।

सानैदेखि नेपाल प्रहरी बनेर राष्ट्रको सेवा गर्ने इच्छा भएका बोहरा प्रहरी छनोटको आधारभूत तालिममा सफल हुँदै प्रशिक्षार्थी प्रहरी जवानका रूपमा छनोट भए।

११ महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका बोहरा सुदूरपश्चिमको साविकको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए।

नियमित तालिमअन्तर्गत १० किलोमिटरको लामो दौड चलिरहेको थियो। आफ्नो पालो आएपछि अन्य प्रशिक्षार्थी प्रहरी जवानसँगै बोहराले पनि दौड सुरु गरे तर केही किलोमिटर पार नगर्दै उनी लडेर बेहोस भए।

एकछिनमा आफैँ उठेर पुनः दौडेका बोहरा १० किलोमिटर कटाउन करिब तीन सय मिटरको दुरी बाँकी छँदै फेरि लडे। फेरि लडेर बेहोस भएका बोहरालाई तत्काल डोटीमा सामान्य उपचार गर्दा होस खुलेन। हेलिकोप्टरमार्फत कोहलपुरमा रहेको शिक्षण अस्पताल लगियो।

शिक्षण अस्पतालमा उपचारका क्रममा बोहरा बेलाबेला होसमा आउँथे। तर शनिबार अस्पतालले आफन्तलाई बोहरालाई बचाउने प्रयास असफल भएको दुःखद खबर सुनायो। यो सँगै उनी सदाका लागि यो संसारबाट बिदा भएर गएका छन्।

भरत आँखामा राखे पनि नबिझाउने मिलनसार स्वभावको थियो। प्रहरी बनेर राष्ट्रको सेवा गर्न चाहन्थ्यो तर पापी दैवले उनको त्यो सपना अधुरै राख्यो,’ काका नाता पर्ने शेरबहादुर बोहराले भने, ‘भतिजको ज्यान गए पनि राज्यले परिवारलाई उचित क्षतिपूर्ति दिन्छ भन्ने हाम्रो विश्वास छ।

उनका अनुसार भरतले परिवारको कमजोर आर्थिक अवस्थाकै कारण उच्चशिक्षा गर्ने इच्छा मार्दै नेपाल प्रहरीको जागिरका लागि आवेदन दिएका थिए। प्रहरी बनेर राष्ट्रको सेवा गर्ने उनको सपना अधुरै हुन पुगेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार भरत असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको हो।

घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएको थियो। उपचारकै क्रममा कोहलपुरस्थित शिक्षण असपतालमा मृ’त्यु भएको सूचना अधिकारी बोहराले बताए।

Post a Comment

Previous Post Next Post