गोठाटार गोलिकाण्ड: घटनास्थलमै पेस्तोल भेटियो, गाडीको पिछा गरेर आक्रमण

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ एक व्यवसायीमाथि गोली प्रहार भएको छ । कपडा व्यवसायी सर्लाहीको हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीमाथि गोली प्रहार भएको हो।

गोली चलेको स्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले घटना स्थलबाट पेस्तोल बरामद भएको बताए । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थितगोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी गम्भीर घाइते छन् ।

तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट गोठा टारमा झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको हो । मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गोठाटार फर्किएका थिए ।

गाडीबाट झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको हो । गाडीका चालक रामप्रसाद गौतमले भने, ‘म ड्राइभरको सिटमै थिएँ । उनी गाडी खोलेर ओर्लिनासाथ गोली हान्न थाल्यो ।

प्रत्यक्षदर्शी शंकर दाहालले बताएअनुसार मोटरसाइकलमा आएकाहरुले उनीमाथि गोली चलाएका थिए । गोली चल्न थालेपछि मोहम्मदले गाडीको वरिपरि घुम्दै भाग्दाभाग्दै तीन राउण्ड गोली लाग्यो ।

गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको छ । गोली हान्ने समूह मोटसाइकल चढेर भाग्यो ।मोटरसाइकलमा आउँदा दुई जना आएको र भाग्ने क्रममा तीन जना गएको प्रत्यक्षदर्शी बताउँछन् ।

घटनास्थलबाट पेस्तोल बरामद भएको छ । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

Post a Comment

Previous Post Next Post