इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा सुनसरी प्रहरीले उद्वार गरेको छ । शुक्रबार साँझ कोशी गाउँपालिका ८ स्थित सप्तकोसी नदीको पुलबाट हाम्फाल्न लाग्दा उद्वार गरिएको हो ।
कोसीमा हाम्फाल्न लागेको भन्ने स्थानीयको सूचना पाएलगत्तै कोशीब्यारेजबाट खटिएको प्रहरी टोलीले सकुशल उद्वार गरेको हो । इटहरी २ की ३४ वर्षीया ती महिलाले उनकै १२ र ९ वर्षीया छोरी साथै ७ वर्षीय छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीले उद्वार गरेको हो ।
ती महिलाका श्रीमान करीब ५ वर्षसम्म वैदेशिक रोजगारीमा रहेको र एक महिना अघि मात्रै घर आएर आर्थिक विषयमा मानसिक तनाव दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आर्थिक लेनदेनको विषयमा बारम्बार मानसिक रूपमा परिवारलाई तनाव दिने र कुटपिट समेत गर्ने गरेकाले असह्य भएपछि ती महिलाले छोराछोरीसहित आत्महत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।