भारतको उत्तर प्रदेशमा ठूलो पानी परेको छ । विगत केही दिनदेखि लगातार परेको वर्षाले जनधनको क्षति भएको छ ।लखनउमा पर्खाल भत्किँदा ९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तीन जना पुरुष, तीन महिला र तीन जना बालबालिका रहेका छन् ।
एक जना घाइते भएका छन् । लगातारको वर्षाका कारण कमजोर पर्खाल भत्किएको र त्यसबाट थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहतको घोषणा गर्नुभएको छ ।
भारतको मौसम विज्ञान विभागले उत्तर प्रदेशमा भोलिसम्म नै ठूलो वर्षा हुने जनाएको छ । त्यहाँ स्कुल तथा कलेज बन्द गरिएको छ । जनजीवन प्रभावित भएको छ ।