रामेछाप बस दुर्घटना : मृतक संख्या १३ पुग्यो, कसरी जोगिए चालक ? हेर्नुहोस्

रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये थप चारको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् ।

सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार जारी छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना रहेका थिए ।

उनीहरुमध्ये चालक भने गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका कारण ठूलो घाइते हुनबाट जोगिएका छन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

आज बिहान झण्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुबाहक बस बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको सुनापती गाउँपालिका–५ लुभुघाटमा दुर्घटनामा परेको थियो ।

स्थानीयवासीले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको दाबी गरेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले पनि गाडीको इन्जिन खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो ।

मृतक नौ जनाको सनाखत

मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको रामेछापका प्रजिअ पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा जिल्लाको सुनापाती गाउँपालिका–५ का ६० वर्षीया ठूला तामाङ, सोही ठाउँका ३६ वर्षीया सञ्जु।

आले, ३६ वर्षका खडकबहादुर विक, २६ वर्षका समरिता तामाङ र २२ वर्षीया विपना तामाङ, काभ्रेका ६० वर्षीया शुभलक्ष्मी मानन्धर, सोही जिल्लाका २७ वर्षीय कमल तामाङ, काभ्रे पाँचखालका ४० वर्षीय कुलबहादुर विक र सोही ठाउँका १८ वर्षीय सुदीप गजमेर रहेका छन् ।

Post a Comment

Previous Post Next Post