म पनि तपाईंहरु जस्तै कसैको बुवा हुँ, ज्यूँदो त देख्न पाइनँ पाइनँ, मरेको लास हेर्न आएको छु मलाई मेरी छोरी हेर्न दिनुस्...

काभ्रे तेमालकी २१ वर्षकी रमा रायमाझी डेढ वर्षदेखि काठमाडौं वुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा काम गर्थिन् । काम गरेर सोही स्कुलमा बहिनीको पढाइ खर्च व्यहोरेर घरमा बाबुआमालाई पैसा पनि पठाउँथिन् ।

उनले काम गर्न थालेदेखि बाबु ईश्वर र आमा गोमालाई धेरै भरथेग भएको थियो । तर अब ईश्वर र गोमाकी प्यारी रमा रहिनन् । उनी आफूले काम गर्दै आएको केएमसी स्कूलकै होस्टलमा झुण्डिएको अवस्थामा भेटिइन् ।

छोरी रमाको मृत्युको खबर सुनेपछि शनिबार राति नै तेमालबाट रायमाझी दम्पती काठमाडौं आइपुगेका छन् । स्कुल बाहिर छोरीको शव कुर्दै यी दम्पतीले गरेको बिलौनाले त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाएको छ ।

‘मेरो त घरको दियो निभेको छ । पिलर ढलेको छ । सहारा गुमेको छ आशाका किरण बिलाएका छन्’, मृत्युको १८ घन्टासम्म पनि छोरीको शव हेर्न नपाएका ईश्वर प्रहरीलाई अनुनय विनय गर्छन्, ‘म पनि तपाईंहरु जस्तै कसैको बुवा हुँ, ज्यूँदो त देख्न पाइनँ पाइनँ, मरेको लास हेर्न आएको छु मलाई मेरी छोरी हेर्न दिनुस् ।’

रमाको शव झुण्डिएको अवस्थामा फेला परेको भए पनि प्रहरीले मृत्युको कारण पत्ता लगाएको छैन । त्यसैले घटनास्थलमा गर्नुपर्ने अनुसन्धानको काम बाँकी रहेको भन्दै प्रहरीले घटनास्थलमा कसैलाई छिर्न दिएको थिएन ।

‘मेरो मुटुको टुक्राको हत्या भएको छ । सधैं भरलाई घरको दियो निभेको छ । बल्लबल्ल छाउन थालेको खुसी लुटिएको छ । अन्तिम पटक लास त हेर्न दिनुस्’, बोल्दा घाँटी सुकिरहेको छ ईश्वरको । उनी बेलाबेला पानी खोज्छन् र फेरि बर्बराउन थाल्छन्, ‘छोरीलाई न्याय चाहियो । मेरी छोरीले के गल्ती गरी ?’

सहर चिनेकी–जानेकी र घरको अवस्था बुझेर काम गर्न थालेकी छोरीको मृत्यु भएपछि रायमाझी दम्पतीको सपना टुटेको छ ।

गाउँमा खेती किसानी र ज्याला मजदुरी गरेर गुजारा गर्दै आइरहेका थिए रायमाझी दम्पतीले । तर त्यतिले मात्रै घर खर्च धान्न सकिने अवस्था थिएन । त्यही अवस्था पार लगाउन मेहनत गरिरहेकी थिइन् रमा ।

रमाको सम्झनामा ब्याकुल भएको मन शान्त पार्न रायमाझी दम्पती बेलाबेला एक अर्काको हात समाउँदै शान्त हुने कोसिस गर्छन् । तर मन बुझाउने कसरी ? एक अर्कालाई हेर्दै उनीहरुका आँखामा आशु टिल्पिलाउँछन् ।

सुक्क सुक्क गर्दै पीडाले छटपटाइरहेकी गोमा बेलाबेला मुर्छा पर्छिन् । गोमालाई आफन्त तथा छोरीहरुले बेलाबेला पानी पिलाइरहेका छन् । पानी छम्किरहेका छन् र हावा लगाइदिँदै छन् ।

मुर्छाबाट ब्यूँझएिकी गोमा सुक्कसुक्क गर्दै श्रीमान ईश्वरको काखमा टाउको राख्छिन् । छोरीलाई न्याय दिलाउन उनले ईश्वरसामु बिन्ती बिसाइरहेकी छिन् । सायद आफू भन्दा श्रीमानप्रति बढी विश्वास र भरोसा छ गोमाको ।

छोरीको मृत्युले गोमाको मन निचोरिएको छ । शनिबार रातिदेखि आँखाबाट आँसुका धारा बगिरहेका छन् । ‘मेरी छोरीले कसको के बिगारेकी थिई र ज्यानै लिनुप¥यो । गल्ती गरेको भए हामीलाई भनेको भए हुन्थ्यो ज्यानै त नलिइदिएको भए हुन्थ्यो । मेरो त सहारा नै खोसियो । अब मैले छोरी कसलाई भन्नु ?’ हात पिट्दै गोमा भनिरहेकी छिन् ।

काभ्रेमा खेतिपाती र ज्याला मजदुरी गरेर गुजरा गर्छन् रायमाझी दम्पती । उनीहरु पैसा र राज्य शक्ति नभएकाले छोरीको मृत्युको अनुसन्धान नहुने हो कि भन्ने आशंका गर्छन् ।

‘बाटोमा प्लाष्टिक टिपेर, ज्याला मजदुरी गरेर गुजारा गर्ने भुईंमान्छे हौं । हामीसँग न पैसा छ न त आफ्ना मान्छे,’ ईश्वर भन्छन्, ‘कुन पापीले छोरीको हत्या गर्‍यो खोजिदिनुस् ।’

आमा गोमा भक्कानिन्छिन् र भन्छिन्, ‘म एक आमा हुँ एक महिला हुँ । मेरो पनि मन छ छोरीलाई न्याय दिनुस् ।’

Post a Comment

Previous Post Next Post