
पर्वत : गण्डकी प्रदेश प्रहरी गण पोखरामा चलेको तालिमका क्रममा बेहोस भएकी एक प्रहरी जवानको मृत्यु भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
२०७८ असोज १७ गतेबाट सुरु भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभूत तालिम ७–०३ औँ समूहमा तालिमका क्रममा नियमित शारीरिक अभ्यासको क्रममा बागलुङको जैमिनी नगरपालिका–९ पैयूँथन्थाप घर भएकी करिब २० वर्षीया पवित्रा थापाको मृत्यु भएको हो।
तालिम केन्द्रका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक बहादुर केसीका अनुसार गत असार २४ गते अभ्यासकै क्रममा आफूलाई स्वास्थ्यमा कठिनाइ भएको बताएकी उनी अचानक बेहोस बनेकी थिइन्।
तत्कालै उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। चिकित्सकहरूले ‘मल्टी अर्गान फेलर’ का कारण उनको मृत्यु भएको बताएको डिएसपी केसीले बताए।
नियमित अभ्यासमा सामान्य अभ्यास भएकै बेलामा ढल्नुभएको थियो। तत्कालै उपचारको लागि लगेर सात दिनसम्म डक्टरहरूले निकै प्रयास गर्दा पनि उहाँलाई बचाउन सकिएन,’ उनले भने, ‘हिट स्ट्रोक हुँदा भाइटल अर्गानमा हिट भएको र त्यसैका कारण मल्टी अर्गान फेल भएर मृत्यु भएको डक्टरहरूले बताउनुभयो।
उपचारकै क्रममा बिहीबार मृत्यु भएपछि थापाका आफन्तहरूलाई बोलाएर शव बुझेपछि आफन्त र प्रहरीले संयुक्त रूपमा पोखराको रामघाटमा शुक्रबार उनको अन्त्येष्टि गरेका छन्।
उनलाई तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज पन्तले प्रहरी सङ्गठनको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए भने अन्त्येष्टिको बेलामा प्रहरीको एक टुकडीले शोक सलामीसमेत अर्पण गरेको थियो।
उनी सरकारी सेवामा प्रवेश गरिसकेको र तालिमको क्रममा मृत्यु भएका कारण प्रहरी कल्याण कोष, सञ्चय कोष, बिमा लगायतको सुविधा नियमअनुसार पाउने डिएसपी केसीले बताए।
यहाँबाट उहाँका कागजातहरू केन्द्रमा पठाउँदै छौँ। सरकारी सेवामा प्रवेश गरी तालिमका क्रममा उहाँको निधन भएकोले सरकारी नियमानुसार पाउने सुविधाहरू पाउनुहोला,’ उनले भने, ‘सुविधाको बारेमा यहाँबाट निर्णय हुँदैन, केन्द्रबाट नै सबै कुरा हुने हो।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****