काठमाडौं आउँदै गरेका १३ जनाको बाटोमै मृत्यु, २० जना घाइते

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेको खतिवडाले जानकारी दिए ।

२० जनाको धुलिखेल अस्पताल र थप १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो । उनका अनुसार अग्लो भीरको घुम्तीबाट बस तल दुर्घटनाग्रस्त भएको खबर आएको छ ।

यस घटनाबारे रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङसँग बुझ्दा यात्रुबहाक बस दुर्घटना भएको र आफूहरु घटनास्थलमा जाँदै गरेको बताइन् । ‘त्यस्तो दुर्घटना हुने ठाउँ त थिएन । बिहान हामी त्यही बाटो आएका थियौं, ‘जिल्ला कार्यालयकी सूचना अधिकारी समेत रहेकी गुरुङले भनिन्, ‘धेरै नै हाताहाती भएको भन्ने पनि खबर आएको छ ।

हामी स्थलगत बुझ्न जाँदै छौं ।’ सुनापति–३ हिलेदेवी स्वाराबाट उक्त बस काठमाडौंका लागि छुटेको थियो । बस के कारणले दुर्घटनामा परेको हो भन्ने बारे थप विवरण आउन बाँकी छ। 

Post a Comment

Previous Post Next Post