पहिराे गएपछि डुम्रे–बेसीसहर सडक खण्ड अवरुद्ध


लमजुङ - लगातारकाे वर्षासँगै गएको पहिराेका कारण गए रातिदेखि डुम्रे –बेसीसहर सडक खण्ड अवरुद्ध भएको छ ।सडक खण्डअन्तर्गत बेसीसहर नगरपालिका–१।

उदिपुरको देउराली डाँडामा पहिराे गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।याे सडक श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिएकाे छ ।

माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडकमा थुप्रिएकाे प्रहरी निरीक्षक रेग्मीले बताउनु भयाे। लेदोले सडक अवरुद्ध भएकाे छ भने वैकल्पिक सडक पनि भासिएको छ। मर्स्याङ्दी नदीले तलबाट सडक कटान गरेकाे र माथिबाट बगेर आएको लेदोका कारण करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएका कारण बिहानैदेखि कुनै पनि गाडी आवतजावत हुन सकेको छैन । याे सडक वैकल्पिक सडककाे रुपमा प्रयाेग हुँदै आएकाे थियाे ।

सडक अवरुद्ध भएपछि बेसीसहरबाट काठमाण्डौ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने र त्यहाँबाट बेसीसहर आउने गाडी सञ्चालन हुनसकेकाे छैन। यसअघि गएकाे असार २८ गते पनि याे सडक अवरुद्ध भएको थियो ।

४२ किलोमिटर दूरी रहेको यस सडक खण्डमा बेला बेला पहिराे जाँदा यात्रुलाई समस्या हुँदै आएकाे छ ।

Post a Comment

Previous Post Next Post