भोजपुरी चलचित्रमा हिरोइन बनाइदिने प्रलोभन देखाएर १५ वर्षीय बालिकालाई भारत लगेर बेच्ने एक भारतीयसहित दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको गौर नगरपालिका-२ घर भइ हाल वीरगञ्ज महानगरपालिका-१६ बस्दै आएकी ४० वर्षीय चमेली देवी र भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन् ।
भारतमा बेचिएकी बालिकाले दिएको बयानको आधारमा चमेली र रोशन परेका हुन् । चमेली र रोशनले बालिकालाई गत वर्ष माघ महिनामा भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर भारतको विहार राज्यस्थति पूर्वी चम्पारणको झिटकैया गाउँमा लगेर बेचेको प्रहरीले जनाएको छ ।
उनीहरुले बालिकालाई एक भारतीय नागरिकसँग ३० हजार रुपैयाँमा विक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।बालिकालाई खरिद गरेका भारतीय नागरिकले उनिसँग जबर्जस्ती विभिन्न वैवाहिक र अन्य कार्यक्रमहरुमा अश्लिल नृत्य गर्न लगाएको र मानसिक यातनासमेत दिन लगाएको गरेको प्रहरीले जनाएको छ ।
बेचिएको लगभग ५ महिना पछि बालिका त्यहाँबाट मौका छोपी फरार हुन् सफल भइन । भारतबाट नेपाल फर्केर आफ्नो अभिभावकको सम्पर्कमा आएकी बालिकालाई प्रहरीले सोधपुछ र काउन्सिलिङ गरेपछि उनले आफूसँग भएको घटनाको बारेमा बताइएकी थिइन् ।
बालिकाका अनुसार चमेली र रोशनसँग उनको एक वर्ष अगाडि चिनजान भएको थियो । भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर उनीहरुले बालिकालाई भारत लगेर बेचेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले बताए ।
बालिकाको बयानको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले बिहिबार चमेली र रोशनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिए ।
बालिकालाई भारतमा खरिद गरेका व्यक्ति भने फरार रहेका छन् । भारतीय प्रहरीसँगको समन्वयमा उनको खोजी कार्य भइरहेको कार्कीले बताए ।
पक्राउ परेका दुवैमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसूरमा मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाएको छ ।