छोराको हत्या भयो, मैले न्याय पाउँछु कि पाउँदिनँ ?

म एमालेमा आस्थावान मान्छे हुँ । मेरो छोरालाई त राजनीतिको बारेमा केहि पनि थाहा थिएन । बाबु ठूलो मान्छे भएपछि के बन्छस् भन्दा म त खेलाडी बन्छु भन्थ्यो ।

१६ गते पनि वीरपथमा भलिबल खेलेर ५ हजार रुपैयाँ पुरस्कार जितें भनेर खुसी हुँदै आएको थियो । विद्यार्थीका कुनै पनि संगठनमा ऊ थिएन । १७ गते साँझ कतै गाउँमा होहल्ला थियो; कतै नाचगान भइरहेको थियो ।

म घरमै थिएँ । सधैंजसो गाउँमा आफ्ना साथीभाइसँग बसिराख्ने भएकाले मेरो छोरा पनि त्यतै होला भन्ने सोचेँ तर गाउँमा प्रहरी आएपछि प्रक्राउ पर्ने डरले मेरो छोरा पनि गाउँका अन्य केटासँग भागेको रहेछ ।

प्रहरी आएपछि गाउँमा महिला र प्रहरीबीच विवाद भयो । कोही केटाहरू भागे । जता गए पनि मेरो छोरा आफ्नै साथीहरूसँग होला जस्तो लाग्यो । १८ गते पनि म र मेरो परिवारले छोरा कता छ भन्ने खासै सोधिखोजी गरेनौं । जेठ १९ गतेसम्म छोरा सम्पर्कमा नआएपछि खोज्न सुरु गरियो ।

तीन दिनसम्म परिवारको सम्पर्कमा मेरो छोरा नआएपछि म धेरै आत्तिएँ । १९ गते सोधिखोजी गर्न थालें; त्यहि बेला मेरो छोरा जिउँदो छैन भन्ने मेरो मनमा लाग्यो । कालिकास्थानदेखि विनायकसम्म १९ गते खोजेको खोज्यै गरेँ ।

मेरो भर्खरै मुटुको अप्रेसन भएको छ । एउटा हात छैन, अपाङ्ग छु । छोरा हराएको छ भनेर एक्ला एक्लै खोज्न हिँड्दा पनि मेरो साथमा कोहि आएनन् ।

म एक्लै हिँडिरहेको थिए ।१७ गते राति प्रहरीको लछारपछारबाट चोटपटक लागेका महिलाहरू मंगलसेनमा मुद्दा दर्ता गर्न जाने र उपचार गर्न जाने थाहा पाएपछि मेरो छोरा पनि १७ गते रातिदेखि हराएको छ; बुझिदिनुहोला भनेको थिएँ । त्यसपछि मेरो छोरा हराएको छ भनेर इलाका प्रहरी कार्यालय विनायक गएँ ।

त्यसपछि प्रहरी र स्थानीयहरू सबै जंगल र भिडमा खाज्न थाले ।२१ गते बिहान मेरो छोराको लास पञ्चदेवल क्याम्पस नजिकै मध्यपहाडी सडकबाट करिब ३ सय मिटर तलको सडकमा आधा कुहिएको अवस्थामा भेटियो । राजनीतिक कारणले नै छोराको हत्या भयो । मेरो छोरा मरिसक्यो । अब फिर्ता त जति मरिहत्ते गरे पनि आउँदैन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post