विनोद शाही मृत्यु प्रकरण: हत्यामा संलग्न भएको आशङ्कामा ५ जना पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का विनोद शाहीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मंगलवार साँझ सोही वडाका ५ जना युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुरत शाही, देवेन्द्र शाही, राम शाही, मिलन र महेन्द्र शाही रहेका छन् । उनीहरू सबैलाई विनोदको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

पीडित परिवारले न्यायको माग गर्दै दिनहुँ पंचदेवलन विनायकमा विरोध प्रदर्शन गरिरहेका छन् । नगर प्रमुख लगायतका नाममा किटानी जाहेरी दर्ता नगरी प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै पीडित परिवारले विनायक बजारमा दिनहुँ प्रदर्शन गर्दै आएका बेला पाँच जनालाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको हो ।

मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले उनीहरूलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए । घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

विनोद शाहीको हत्या भएको भन्दै सडकबाट सुरु भएको आन्दोलन सांसदसम्म पुगेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरूले दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । गत वैशाख ३० सम्पन्न स्थानीय तहको चुनावमा मतदानका क्रममा नेपाली काँग्रेस र नेकपा एमालेबिच सुरु भएको विवादले उग्र रूप लिँदा उक्त घटना भएको हो ।

काँग्रेस र एमाले कार्यकर्ताबिच पुनः विवाद भएपछि जेठ १७ गते मध्य राति प्रहरी गाउँमा पसेर विवादमा संलग्नलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय वृद्धा वृद्ध , महिला र प्रहरी बिच लछारपछार समेत भएको थियो । सोही रातबाट हराएका विनोद जेठ २१ गते घरबाट करिब ५ सय मिटर टाढा पञ्चदेवल क्याम्पस नजिकै कुच्ची भीरमा मृत अवस्थामा भेटिएका थिए।

प्रहरीले किटानी जाहेरी दर्ता नगरेका भन्दै परिवारले अहिले सम्म पनि शव बुझेका छैनन् । मुचुल्का उठाए पनि शवको पोष्टमार्टम समेत हुन सकेको छैन । परिवारले दोषीलाई कारवाहीको माग गर्दै विनायकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

छोराको हत्या भयो, मैले न्याय पाउँछु कि पाउँदिनँ ?

जिल्लास्थित प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन माग गरेका हुन् । नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली कांग्रेसका कार्यकर्ताहरूबाट भएको आरोप लगाएको छ भने नेपाली कांग्रेसले उक्त आरोपको खण्डन गरेको छ ।

पाँच दिनदेखि हराइरहेका शाहीको शव गाउँकै भिरमा जेठ २१ गते भेटिएको थियो । न्याय माग्दै मृतकका आफन्तले लगातार विनायकमा आन्दोलन गरिरहेका छन् । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले बुधबार प्रतिनिधिसभा बैठकमा शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन् । अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युबारे तत्काल सरकारका नाममा रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरेका थिए ।

Post a Comment

Previous Post Next Post