मलामी गएका दुई युवाकाे राप्ती नदीमा डुबेर ज्यान गयाे

बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएकाे छ ।

हुम्ला सिमिकोट–८ घर भइ अहिले नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिवल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधवार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि हिजाे बेलुका खोजतलास गर्दा नदीको छेउमा दुई जोर कपडा र एक थान मोबाइल फेला परेको थियो । उनीहरु पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका आशङ्का गरिएको छ ।

बिहीवार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ मा रहेकाे सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो । हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसै वर्ष यहाँकाे धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएका थिए ।

Post a Comment

Previous Post Next Post